सुर्खेतका चार पालिकामा पुनः कोरोना विरुद्धको खोप लगाइदै

सिर्जना बुढाथोकी, सुर्खेत ।
सुर्खेतमा कोरोना विरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने भएको छ । यसअघि खोप कभरेज कम भएको भन्दै वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, चौकुने गाँउपालिका र चिगांड गाँउपालिकामा पुनः खोप लगाइने भएको हो ।

आगामी चैत्र १, २ र ३ गते खोप अभियान सञ्चालन गर्ने र अभियानमा परिचालन हुने स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिरहेको स्वास्थ्य सेवा कार्यालय सुर्खेतले जानकारी दिएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा EpiC Nepal/FHI 360 को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त खोप अभियान चलाउन लागिएको हो ।

पछिल्लो समय कोभिड १९ को नयाँ भेरिएन्ट जे.एन.१ नेपालमा देखा परेका कारण खोप अभियान चलाउनका लागि परिवार कल्याण महाशाखाको समन्वयमा व्यवस्थापन महाशाखाले फाईजर खोप पठाइसकेको कार्यालयले जानकारी गराएको हो । स्वास्थ्य सेवा कार्यालय सुर्खेतले अभियान सञ्चालन हुने प्रत्येक पालिकामा ३ हजार ३ सयका दरले १९ हजार ८ सय डोज खोप आइसकेको जानकारी गराएको हो ।
सुर्खेत जिल्लामा कोभिड १९ खोप हालसम्म पहिलो डोज ९१.६ प्रतिशत, दोस्रो ८०.९ प्रतिशतले खोप लगाइसकेको छन् । जसमध्ये पहिलो बुस्टर ३६.८ प्रतिशत र दोस्रो बुस्टर १.४ प्रतिशत जनताले मात्रै खोप लगाएको कार्यालयले जानकारी दिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया