सुुर्खेत। नेपाल पुलिस स्कुल सुर्खेतमा कार्यरत सई अमित रावलको एक फोटो चौथो नेपालगन्ज फोटो फेस्टिवलमा उत्कृष्ट ३१ मा छनौट भई पिपुल्स च्वाईस अवार्डका लागि मनोनित भएको छ ।
अन्तराल मिडिया ग्रुप द्वारा आयोजना हुन लागेको राष्ट्रियस्तरको फोटो प्रतिस्पर्धा चौथो नेपालगंज फोटो फेस्टिवलमा देशै भरीबाट उत्कृष्ट फोटोहरु आव्हान गरिएको थियो । प्रतिस्पर्धाका लागि आएका फोटोहरु मध्यबाट रावलले खिचेको फोटो शिर्ष ३१ भित्र छनौट भई पिपुल्स च्वाईस अवार्डका लागि मनोनित भएको हो ।
सुर्खेतको वीरेन्द्रनगर १ मा जन्मिएका रावलले नेपालगंजलाई कर्मथलो बनाइका छन् । उनी नेपाल पुलिस स्कुल सुर्खेतमा सईको पदमा कार्यरत छन् । ४० वर्षिय अमित रावल विगत १९ वर्षदेखि प्रहरी सेवामा आवद्ध छन्। जागिरको व्यस्ततालाई सँगै राख्दै रावलले वाइल्डलाइफ, स्ट्रिट, डेली लाइफ र स्पोट्र्स फोटोग्राफीमा रुचि राख्छन्।
रावल पछिल्लो समय कर्णाली प्रदेशका पर्यटकीय क्षेत्र र प्रकृति संरक्षणका फोटोहरू खिच्नमा सक्रिय भएको बताउछन्। उनले कर्णाली प्रदेश पर्यटन र प्रकृतिको दृष्टिले अत्यधिक सम्भावनायुक्त रहेको छ र यसलाई फोटोग्राफीको माध्यमबाट विश्वभर चिनाउन सबैको योगदान आवश्यक रहेको समेत जनाए ।
चौथो नेपालगन्ज फोटो फेस्टिवल प्रतियोगिताको दोस्रो संस्करणमा रावलले खिचेको नेपाल स्माइल शीर्षकको तस्वीरले दिक्षान्त समरोहका पसिनाले ओतप्रोत भएका प्रशिक्षार्थी प्रहरी जवानको मन्द मुस्कानलाई समेटेर विजेता भएको थियो। त्यसपछि उनले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको प्रहरी दिवस, लागुऔषध विरुद्धको अभियान र लालटिन अभियान जस्ता विभिन्न कार्यक्रमहरूको फोटोग्राफी गरेका छन्।
प्रहरी र जनता बिचको सम्बन्ध सुधार गर्नका लागि समेत प्रहरिले गर्ने जनसेवाहरुको फोटो एक सशक्त माध्यम हुन सक्ने रावल बताउछन् ।
यस वर्षको चौथो नेपालगन्ज फोटो फेस्टिवलमा पिपुल्स च्वाइस अवार्डका लागि भोटिङ प्रक्रिया ईसेवा एप मार्फत सञ्चालन भइरहेको छ। ईसेवासँगको सहकार्यमा यहि जेष्ठ १९ गते देखि अनलाइन भोटिङ खुला गरिएको छ। सवैभन्दा बढी भोट प्राप्त गर्ने फोटोले पिपुल्स च्वाइस अवार्ड जित्नेछ । जित्नेछ। भोटिंगकाका लागि ईसेवा एप मार्फत भोटिंगमा गई 4th Nepalgunj Photo Festival को १३ नं.को फोटोलाई भोट गर्न सकिनेछ ।
प्रतिस्पर्धामा आएका फोटोहरूको निर्णायक समितिमा वरिष्ठ फोटो पत्रकार विकास कार्की, वरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर रहेका छन्। यो निर्णायक समितिले १ सय ११ फोटो छनौट गरिसकेको छ। ९ वटा विधाको उत्कृष्ट फोटोले नगद ५ हजार सहित प्रमाणपत्र पाउने छन् भने सर्वोत्कृष्ट फोटोले ’फोटो अफ द इयर’ अवार्ड जित्नेछन् जसमा ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित सम्मान प्रदान गरिनेछ।
असार महिनाको पहिलो साता नेपालगन्जमा आयोजना गरिने फेसटिवलमा यी फोटोहरू प्रदर्शनीमा राखिनेछन्। त्यसपछि राजधानी काठमाडौंको नेपाल आर्ट ग्यालरीमा २ दिने प्रदर्शनी गरेर नेपाल फोटो टुरको शुभारम्भ गरिनेछ। यस टुरले सातै प्रदेशमा यात्रा गर्नेछ।
रावलको यो उपलब्धि कर्णाली प्रदेशका फोटोग्राफरहरूको लागि गर्वको विषय हो । उनले आफ्नो कला र सेवाको माध्यमबाट समाजमा सकारात्मक सन्देश पुर्याइरहेका छन्।
फ्याक्ट सञ्चार । २०८२ जेष्ठ २८ गते मङ्गलवार