कर्णालीमा पहिलोपटक ‘कर्णाली छोरी सम्मेलन’ हुदैँ, २०० भन्दा बढी छोरी एकै मञ्चमा

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक ‘कर्णाली छोरी सम्मेलन’ हुने भएको छ। श्री ज्योति फाउन्डेसन र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहकार्यमा तीन दिने ‘कर्णाली छोरी सम्मेलन’ यही शनिबारदेखि सोमबारसम्म वीरेन्द्रनगरस्थित शुभ होटलमा आयोजना हुँदैछ।

सम्मेलन मार्फत कर्णालीका छोरीहरूलाई सशक्त, सचेत र आत्मनिर्भर बनाउने लक्ष्य लिइएको आयोजक संस्था श्री ज्योति फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालले जानकारी दिइन्। उनका अनुसार यो सम्मेलन चेतनाको जगेर्ना गर्ने सामाजिक अभियान हो, जहाँ कर्णालीका छोरीहरूलाई आफ्नो अधिकार र क्षमता पहिचान गर्न प्रेरित गरिनेछ। “कर्णालीका छोरीहरू जन्मजात कमजोर होइनन्, उनीहरू अवसर र पहुँचको अभावका कारण पछाडि परेका हुन्,” उनले भनिन् “त्यही यथार्थलाई उजागर गर्दै उनीहरूको जीवन रूपान्तरण गर्ने हाम्रो उद्देश्य हो।”

सम्मेलनमा कर्णालीका ७९ वटा स्थानीय तहबाट दुई/दुई जना प्रतिनिधि छोरीहरू तथा राउटे, राजी, बादी र बोटे समुदायबाट थप प्रतिनिधित्व हुने गरी करिब २०० जना छोरीहरूको सहभागिता रहने छ। सहभागीहरू शुक्रबारदेखि नै सम्मेलनस्थलमा आइपुगेका छन्।

तीन दिनसम्म चल्ने सम्मेलनमा ‘छोरीका मनका कुरा’ शीर्षकमा सहभागीहरूले आफ्ना अनुभव र भोगाइहरू सुनाउने छन्। साथै, सृजनशील छोरीहरूले कविता, चित्र, नृत्य जस्ता आफ्ना प्रतिभा प्रस्तुत गर्न पाउनेछन्।

प्रवचन सत्रमा ‘छोरीहरूको जीवन रूपान्तरण’ शीर्षकमा विज्ञहरूले व्याख्या र विश्लेषण गर्नेछन्। बहसका विषयहरू छोरीहरूको शिक्षा, स्वास्थ्य, आत्मनिर्भरता, सामाजिक अधिकार र नेतृत्व क्षमतामा आधारित हुने आयोजकले जनाएको छ।

सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्ने कार्यक्रम तय भएको छ। आयोजकले यो सम्मेलन कर्णालीको सामाजिक विकासमा ऐतिहासिक मोड सावित हुने विश्वास व्यक्त गरेका छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया