कर्मचारीहरुले हकहितमा ऐन जारी गर्न माग राख्दै उत्रिए आन्दोलनमा

सुर्खेत । कर्णाली प्रदेशमा स्थानीय सेवामा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको हकहितमा ऐन जारी गर्न माग गर्दै बुधबार कर्मचारीहरूले र्‍याली निकालेका हुन् ।

स्थानीय सेवा कर्मचारी सञ्जाल, कर्णाली प्रदेश समितिले तत्काल स्थानीय कर्मचारीहरूको हकहितमा ऐन जारी गर्न ध्यानाकर्षण गराउँदै र्‍याली निकालेको हो ।

 

कर्णाली प्रदेश सरकारले तर्जुमा गरेको स्थानीय सेवा गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ जारी गर्ने तयारी र कर्णाली प्रदेश सभाका सांसदहरूले दर्ता गरेको संशोधन प्रस्तावउपर प्रदेश मामिला समितिमा छलफल चलिरहेको बेला स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको हकहितमा ऐन जारी गर्न कर्मचारीहरु आन्दोलित बनेका हुन् ।

उनीहरुले कर्मचारीबीचको विभेदको अन्त्य गर्न, सरुवा सहमति खारेज गर्न, समायोजन भएका कर्मचारीलाई संघमा जाने बाटो सुनिश्चित गर्न र प्रदेश निजामती किताबखाना लागु गर्न माग गरेका छन् ।

आज उनीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री ध्यानाकर्षण गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया