काठमाडौं । सहकारीमा बचतकर्ताको रकम अपचलन र संगठित अपराध अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीबारको पेशी पनि स्थगित भएको छ ।
न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
न्यायाधीश सागर विष्टको आफन्त जाहेरवाला कानून व्यवसायी परेका कारण पेशी स्थगित गरिएको कुँवरले बताए । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गतेपछि निरन्तर सरिरहेको छ ।
यसअघि दुईपटक रविका कानुन व्यवसायीले निवेदन दिएर सारेका थिए भने गत बिहीबार सार्वजनिक बिदाका कारण रोकिएको थियो । यसअघि कार्तिक १३ गते तोकिएको पेशी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो ।
रास्वपा सभापति लामिछानेले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै निवेदन दिएका थिए । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्छुभन्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
यसअघि लामिछाने र जोशीको एकै प्रकृतिका मुद्दा भएकाले एकैसाथ राख्न आदेश गरेको थियो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड रूपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।

फ्याक्ट सञ्चार । २०८२ मङ्सिर २६ गते बिहिवार