कर्णालीको मुख्यमन्त्री विवाद मिलाउन महेन्द्रबहादुर शाही सुर्खेतमा

सुर्खेत । नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कर्णाली सरकारको नेतृत्व एमालेलाई दिन परिपत्र गरेपछि माओवादी भित्र अन्तर विरोध देखिएको छ ।

केन्द्रले नेतृत्व एमालेलाई दिने भनेपनि मुख्यमन्त्री राजकुमार शर्मा पछि नहट्ने अडान कायम राखेपछि कर्णालीमा विवाद चुलिएको हो । कर्णालीको नेतृत्व एमालेलाई दिन प्रचण्डले परिपत्र गरे लगत्तै पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही कर्णालीको विवाद समाधानका गर्न आज मंगलबार बिहान सुर्खेत पुगेका हुन् ।

मुख्यमन्त्री शर्माले पछि हट्न नमानेपछि प्रचण्डले शाहीलाई कर्णालीमा देखिएको विवाद मिलाउन सुर्खेत पठाएका हुन् । सुर्खेत आइपुगेका शाहीले छलफल थालेको छन् ।

माओवादी पार्टीको जनाधार रहेको कर्णालीमा मुख्यमन्त्री एमालेलाई दिने भएपछी केही टसल भएको बताउदै केन्द्रीय पार्टीको नीति अनुसार नै चल्नुको विकल्प नभएकाले छलफलका लागि सुर्खेत आएको शाहिले बताए । उनले छलफल जारी भएको र दिउँसोसम्म केही निष्कर्ष आउने बताए ।

शाहीको उपस्थितीमा अहिले मुख्यमन्त्री निवासमा बैठक जारी छ । अहिले मुख्यमन्त्रीको निवासमा शाहीसहित माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, मुख्यमन्त्री शर्माबिच छलफल चलिरहेको छ । प्रदेश अध्यक्ष विमला केसी भने त्यहाँ उपस्थित नरहेको बताइएको छ । प्रदेशमा माओवादी नेताहरू नै एकमत छैनन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया