सुर्खेत । शनिबार वीरेन्द्रनगरमा प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।
म्याराथन तयारी अन्तिम चरणमा पुगेको रेस नेपालले जनाएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुन लागेको पहिलो म्याराथन भएकाले स्थापित धावकलाई प्रोत्साहन गरिएको आयोजक रेस नेपालका अध्यक्ष टीएस ठकुरीले बताए ।
कर्णाली हाफ म्याराथनमा दौडन राष्ट्रिय रूपमा स्थापित धावकहरूले नाम दर्ता गराइरहेका छन् ।
नेपालगञ्ज म्याराथनको यात्रा दशक पुगेको अवसरमा दौड संस्कृतिको विकास गर्न भन्दै यस वर्षदेखि कर्णाली हाफ म्याराथन सुरु गरेको हो । दुवै म्याराथनको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले गर्दै आएको छ ।
पहिलोपटक हुन लागेको कर्णाली हाफ म्याराथनलाई क्रमिक रूपमा दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवर्द्धन गराउने इभेन्टका रूपमा स्थापित गराउने आयोजकको योजना छ ।
आसन्न १०औँ राष्ट्रिय खेलकुदलाई प्रवर्द्धन गर्ने गरी कर्णाली हाफ म्याराथन आयोजना रेस नेपालले जनाएको छ । कर्णाली हाफ म्याराथनमा केएल दुगड ग्रुपको ज्ञान खाद्यान्नले टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्ने भएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय पालिका एवं निजीक्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको हो ।
कर्णाली हाफ म्याराथनका लागि सम्पूर्ण संयोजनको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीलाई दिइएको रेस नेपालका अध्यक्ष ठकुरीले बताए ।
त्यसैगरी, कुमारशमशेर थापालाई सदस्य–सचिवको जिम्मेवारी प्रदान गरिएको छ । कर्णाली म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियामा अघि बढाउने र विश्व म्याराथनको छातामुनि लैजाने पनि उनले जनाए ।
फ्याक्ट सञ्चार । २०८१ बैशाख २८ गते शुक्रवार