प्रेमी वा प्रेमिकालाई तथा मन पराइएको व्यक्तिलाई प्रेम दर्साउन गुलाबको फूल दिने चलन छ । मायामा परेकाहरूले कसैलाई आफ्नो प्रेम व्यक्त गर्नु पर्यो भने गाढा रातो गुलाबको फूल दिएर मनको भावना पोख्ने गर्छन् ।
नेपाली संस्कारमा फूल जन्मेदेखि मृत्यू पर्यन्त जुनसुकै बेला पनि आवश्यकता पर्दछ । धर्मकर्म, पूजापाठ, प्रेमालाप, कुनै वरिष्ट पाहुनाको स्वागत, घर या वातावरणको सजावट र साजसज्जा सबैमा फूलको अनिवार्य उपस्थिति रहेको हुन्छ । तिनै फूलमध्येको एउटा हो गुलाब ।
कसैलाई धन्यवाद दिन होस् वा बधाई दिन, गुलाबकै फूल बढी प्रयोग हुन्छ । फूलले शब्दहरू बिना भावना व्यक्त गर्छ । गुलाबको फूलमध्ये पनि रातो गुलाबलाई प्रेमको प्रतीकका रुपमा मानिन्छ । त्यसैले वर्षौँदेखि रातो गुलाब प्रेम र स्नेह व्यक्त गर्न प्रयोग गरिन्छ । प्रेम व्यक्त गर्न रातो गुलाब नै किन दिइन्छ ?
रातो गुलाब

रातो गुलाबको फूल प्रेमको प्रतीक हो । तपाइँंले कसैलाई रातो गुलाब दिनुहुन्छ भने उसप्रति तपाईंको प्रेमको अभिव्यक्तिका रुपमा बुझ्नुपर्छ ।
रातो र सेतो गुलाब
रातो र सेतो रङले मिश्रित गुलाबको दिनुको अर्थ एकता हो । त्यसैले यसलाई एकताको सन्देशका रुपमा लिनुपर्छ ।
हल्का गुलाबी
हल्का गुलाबी रङलाई साथित्व, प्रशंसा र खुसीको प्रतीक मानिन्छ । यदि कसैको प्रशंसा गर्न र खुसी व्यक्त गर्नुछ भने हल्का गुलाबी रङको गुलाब दिनुपर्छ ।
गाढा गुलाबी

गाढा गुलाबीको गुलाबको अर्थ व्यक्तिप्रति कृतज्ञता र सम्मान देखाउनु हो ।
पहेँलो गुलाब
पहेँलो गुलाब साथित्व, खुसी र अरुप्रति केयर गर्ने प्रतीकका रुपमा मानिन्छ । तपाईंले कुनै साथीलाई साँच्चिकै केयर गर्छु भन्ने सन्देश दिन चाहानुहुन्छ भने पहेँलो गुलाब दिनुपर्छ ।
बैजनी गुलाब
तपाईंले कसैलाई पहिलो पटक देख्नेबित्तिकै उसप्रति गम्भीर हुनुभयो भने बैजनी रङको गुलाब दिँदा ठ्याक्कै अर्थ बुझ्छन् । किनकी यसको अर्थ पहिलो आर्कषण हो ।
सेतो गुलाब
सेतो गुलाब पवित्रता र निर्दोषपनाको प्रतीक हो । सेतो गुलाबको प्रयोग प्राय पूजाआजामा बढी हुन्छ ।
फ्याक्ट सञ्चार । २०८१ माघ २५ गते शुक्रवार