प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने भएका छन् ।

सत्तापक्षका मुख्य सचेतक महेश बर्ताैलाले दिएको जानकारी अनुसार आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको हो ।

प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई कांग्रेसको साथ छ । संविधानको धारा ७६.२ अन्तर्गत प्रधानमन्त्री बनेका ओलीलाई कुनै प्रतिकुलता आउन सक्ने र त्यसपछि धारा ७६.३ मा प्रवेश गरेर ठूलो दलका हैसियतमा कांग्रेसलाई अघि बढाउन सकिन्छ कि भन्ने कोणबाट पनि राजनीतिक वृत्तमा छलफल चल्ने गरेका छन् ।

ओलीले यो बहसलाई समेत किनारा लगाउँदै सहज ढंगले अघि बढ्न तुरुन्तै विश्वासको मत लिन चाहेको एमालेले बताएको छ ।

यसैगरी एमालेले सत्तापक्षको मूख्य सचेतकमा महेश बर्ताैलालाई नियुक्त गरेको छ । प्रधानमन्त्री ओलीले बुधबार पत्र थमाउँदै बर्ताैलालाई उक्त जिम्मेवारी दिएका हुन् । बर्ताैलाले अब संसदमा एमालेसहित कांग्रेस, जसपाको समेत मूख्य सचेतकका रुपमा भूमिका खेल्नेछन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया