सुर्खेत । विद्यालय छोड्ने समस्या बारे पूर्वी सुर्खेतका दुई विद्यालयमा सह डिजाइन कार्यक्रम सम्पन्न भएको छ । गुर्भाकोट नगरपालिका₋८, को सूर्य ज्योति माध्यमिक विद्यालय र लेकवेशी नगरपालिका₋७, को पशुपति माध्यमिक विद्यालयमा सहडिजाईन कार्यक्रम गरिएको थियो ।
सार्वजनिक शिक्षाको जबाफदेहीताका लागि नागरिक समाजको सशक्तीकरण (सिएसइ) कार्यक्रम अन्तर्गत कारखाना समूह र फ्यूचर नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । पछिल्लो समय लेकवेशी र गुर्भाकोटका अधिकांश क्षेत्रमा विद्यालय छोड्ने बालबालिकाहरूको सङ्ख्या बढ्दो छ ।

विद्यार्थीहरूले किन ? र के कारणले विद्यालय छोड्छन्, विद्यालय छोडेका विद्यार्थीहरूलाई कसरी पुनः स्कुल फर्काउन सकिन्छ भन्ने बारे सह डिजाइन मार्फत समस्याको गहिराइमा पुग्ने प्रयास गरिएको फ्यूच नेपालका अध्यक्ष यज्ञ खत्रीले जानकारी दिए ।
‘पूर्वी सुर्खेतमा स्कुल छोड्नेहरू सङ्ख्या बढ्दो रहेछ । हामीले सरोकारवाला सबैलाई एकै ठाउँमा राखेर सह डिजाइन सम्पन्न गरेका छौँ,’ अध्यक्ष खत्रीले भने, ‘उक्त समस्याको पहिचान गरी समाधानका लागि सम्बन्धित निकायलाई पहल गर्ने छौँ ।’
अध्यक्ष खत्रीका अनुसार दुई वटै विद्यालयहरूमा शिक्षक, अभिभावक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र नागरिक समाजका अगुवा लगाएको सहभागितामा स्कुल छाड्ने विद्यार्थीका समस्याको पहिचान र समाधानका उपायबारे गृहकार्य सहित छलफल गरिएको छ ।

आर्थिक अभाव, बालविवाह र लागु औषध दुर्व्यसनी जस्ता कारणले विद्यार्थीहरूले विद्यालय छोड्ने गरेको सूर्य ज्योति माविका प्रधानाध्यापक हिकमत बुढाले जानकारी दिए । सहभागीहरूको संयुक्त छलफलबाट आएको निष्कर्ष सुनाउँदै उनले भने, ‘हाम्रो समुदायमा ७० प्रतिशत भन्दा बढी दलित र जनजाति समुदायका बालबालिकाहरू पढ्नु हुन्छ । उहाँहरूले स्कुल छोड्नुको मुख्य कारण नै लागु औषध, बालविवाह र गरिबी नै रहको छ ।’
केही दृष्टि विहीन भएका बालबालिकाहरू पनि पहुँच योग्य शैक्षिक संस्था नहुँदा माथिल्लो कक्षामा जान नसकेको उनले बताए । ‘कतिपय बालबालिका रोजगारीका लागि बाउआमासँगै काला पहाड (भारत) जाने गर्दा पनि स्कुल छोड्ने गरेको देखिन्छ,’ प्रधानाध्यापक बुढाले भने, ‘शिक्षाको महत्त्व र यो प्रतिको मोटिभेसन नै नहुँदा पनि कतिपय विद्यार्थीहरूले पढेर के हुन्छ ? भन्दै बिचैमा स्कुल छोड्ने गरेको देखियो ।’

त्यस्तै पशुपति माविको छलफलमा पनि आर्थिक अभाव भएका बालबालिकाहरूलाई शैक्षिक सहयता नभएको, स्वरोजगार मूलक शिक्षा नहुँदा पढाइमा वितृष्ण बढेको, पढाई सम्बन्धी उत्प्रेरण दिने गतिविधि नभएको र उनीहरूलाई सकारात्मक उत्प्रेरण जस्तो कमी भएको सहभागीहरूले बताएका थिए ।
सरकारका कुनै पनि निकायसँग विद्यालय छोड्ने विद्यार्थीहरूलाई पुनः कक्षा कोठा फर्काउने कार्यक्रम नहुँदा पनि यसको दर बढेको पशुपति माविका प्रधानाध्यापक भानु पौडेलले बताए । पछिल्लो समय बढ्दो मानसिक समस्याका कारण पनि विद्यार्थीहरूले स्कुल छोड्ने गरेको समूहगत निष्कर्मा पुगेको उनले बताए ।
सिएसइ परियोजना र कारखाना समूहको सहयोगमा यी दुई स्थानीय तहमा फ्यूचर नेपालले ‘गेट्स ब्रिंङ्ग देम ब्याक’ नामक परियोजना सञ्चालन गरेको छ । उक्त परियोजना मार्फत विद्यालय छोड्ने विद्यार्थीहरूको समस्या पहिचान, अनुसन्धान र समाधानको लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराउने जस्ता गतिविधि गरिएको अध्यक्ष खत्रीले बताए




फ्याक्ट सञ्चार । २०८२ माघ ९ गते बिहिवार