पचालझरनाको नीति तथा कार्यक्रमः एमविविएसका लागि छात्रवृत्ति, सरकारी सेवामा जानेलाई सम्मान

सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकाले आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधवार पालिका केन्द्र पडेक्षामा पालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले कक्षा १२ मा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई एमविविएस पढ्नको लागि छात्रवृती र “राष्ट्रसेवक कर्मचारी पचालझरनाको शान, सरकारी सेवामा प्रवेश गर्नेलाई पालिकाको सम्मान” जस्ता कार्यक्रम सार्वजनिक गरेका छन् ।

अध्यक्ष शाहीले आ.व. २०८२/०८३ मा गाउँपालिका बासीको आवश्यकता र संघीयताको मर्म र भावना अनुरुप योजना सम्झौताको लागि वडावडामा घुम्ती शिविर मार्फत घुम्ती योजना सम्झौता शिविर सञ्चालन गरि आयोजना सम्बन्धी कार्यलाई चुस्त, दुरुस्त, छिटो, छरितो रुपमा जनताको घर दैलोमा प्रभावकारी सेवा प्रवाहको व्यवस्था मिलाइने जानकारी गराए ।

उनले गाउँपालिकाबाट हुने सेवा प्रवाह, निर्णय निर्माण, नीति निर्माण र विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन, कार्यालयको समग्र सेवा प्रवाहलाई व्यवस्थित र समायानुकुल बनाउन बार्षिक कार्य योजना सहितकोकार्ययालिका बनाई लागु गरिने भन्दै पचालरझरना गाउँपालिकाको स्वीकृत दरबन्दी संरचना, स्थानीय आवश्यकता र राजस्व क्षमताको आधारमा विद्यमान कर्मचारी संगठनलाई चुस्तदुरुस्त बनाउन संगठन तथा व्यवस्थापन सर्वेक्षणगर्ने सम्बन्धमा आवश्यक पहल थाल्ने बताए ।

“कृषि उत्पादनमा वृद्वी पचालझरनाको समृद्वी”कृषि क्षेत्रको उत्पादन एवम् उत्पादकत्व बढाउदै, गाउँपालिकाको आर्थिक विकासमा यस क्षेत्रको योगदानमा बृद्धि गरिनेछ भन्दै अध्यक्ष शाहीले गाउँपालिकामा खाद्यान्न, तरकारी, फलफुल, नगदेबालि स्थानीय रैथानेबालीको प्रबद्र्धन तथा व्यवसायीकरणका लागि प्रोत्साहन गर्ने उल्लेख गरे ।

‘यस्तै देशकै अग्लो मानिएको पचालझरनाको प्रचारप्रसारको लागि कार्यक्रम सहित आवश्यक पहल गर्ने भन्दै अध्यक्ष शाहीले पचालझरना गाउँपालिका क्षेत्रभित्र रहेका पर्यटकीय, धार्मिक सांस्कृतिक महत्वका क्षेत्रको एकिकृत विकास र प्रवर्धनको लागि एकिकृत पचालझरना पर्यटन गुरुयोजना निर्माणको लागि आवश्यक व्यवस्था मिलाइने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शाहीले भने ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल, र जिल्ला अस्पतालसंग समन्वय र सहकार्यमा पालिकास्तरीय एकिकृत स्वास्थ्य शिविर सञ्चालनको लागि आवश्यक पहल गरिने भन्दै उनले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने गाउँपालिका सरकार लागिपर्ने बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया