जुम्ला : जुम्लामा हिमपात भएको छ। यो हिउँदे यामको पहिलो हिमपात हो। सदरमुकाम खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ।
हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान ढिलोगरी हिमपात भएपछि खुशी भएको जिल्लाको तिला गाउँपालिमा–१ की पार्वती बुढाले बताइन्।
माघको उत्तरार्धतिर लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए। जौ र गहुँबालीलाई यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ। स्याउ र ओखरका बिरुवा रोप्ने याम भएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ।
जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाइ सेवा भने अवरुद्ध भएको छ।
              
										
												
												
												
												
												
फ्याक्ट सञ्चार । २०८० माघ १८ गते बिहिवार