सिर्जना बुढाथोकी । प्लान इन्टरनेशनल तथा दलित महिला संघको आयोजनाम कालीकोट जिल्लाकामा संचालित हाम्रो आवाज, हाम्रो रोजाइ परियोजनाको समीक्षा गरिएको छ । शुक्रवार सामाजिक विकास मन्त्री वीरबहादुर शाहीको उपस्थितिमा सो परियोजनाको समापन समीक्षा गरिएको हो ।
परियोजनाको उपलव्धी, चुनौतीवारे जानकारी गर्दै दलित महिला संघका राष्ट्रिय परियोजना संयोजक सावित्री विकले कालीकोटका खाँडाचक्र र रास्कोट नगरपालिका तथा नरहरिनाथ र सान्नित्रिवेणी गाउँपालिकामा लागू गरिएको परियोजनाबाट दलितहरुको मानवअधिकार, जातीय विभेद न्यूनीकरणमा सहयोग पुगेको दावी गर्नुभयो ।
उहाँले परियोजनाबाट आमा समूह, युवा समूहलगायतको सक्रियता बढेको, वर्षौंदेखि मन्दिर प्रवेशमा रोक लगाइएको मन्दिरमा दलितहरुले पूजाआजा गर्न थालेको, चार पालिकामा ७६ जना मानवअधिकार रक्षकहरु तयार भएको, पालिकाहरुले दलित सशक्तिकरण ऐन बनाउने तयार गरेको, विभेद मुक्त समाज बनाउन प्रयत्नशील रहेको, बालविवाह ५१ प्रतिशतबाट घटेर ३२ प्रतिशतमा आएकोजस्ता उपलव्धीहरु हासिल भएको जानकारी दिनुभयो ।
समीक्षा कार्यक्रममा सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले विभेदमुक्त समाज बनाउन सरकारी, गैरसरकारीलगायत सवै क्षेत्रको सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले विकासका साथै विचार पनि सकारात्मक बनाउन लाग्नुपर्ने जिकिर गर्नुभयो । साथै कालीकोटका चार पालिकामात्र होइन कर्णालीका सवै पालिकाहरुमा यस्ता जनचेतनामूलक परियोजनाको आवश्यकता रहेको उहाँको भनाइ छ ।
दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरुले भौगोलिक कठिनाइ, गरिवीलगायतका चुनौतीका विच पनि परियोजनाले धेरै उपलव्धी हासिल गरेको जनाएका थिए ।
फ्याक्ट सञ्चार । २०८१ असार २ गते शनिवार