पारिवारिक हिंसाको पीडामा आमा–छोरीको मृत्यु, पाँच वर्षीय छोरा अझै बेपत्ता

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतले आफ्ना दुई छोराछोरीसहित भेरी नदीमा हामफालेर ज्यान गुमाएकी छन् । घटनामा आमा र छोरीको शव फेला परिसकेको छ भने पाँच वर्षीय छोरा अझै बेपत्ता छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लामो समयदेखिको पारिवारिक कलह र घरेलु हिंसाले थिचिएकी मायाले यस्तो निर्णय लिन पुगेकी हुन् । प्रहरीले दिएको जानकारी अनुसार उनका श्रीमान् भूपेन्द्र कठायतले मदिरा सेवन गरी बारम्बार कुटपिट गर्ने, मानसिक दबाब दिने र ज्यान मार्ने धम्की दिने गरेको खुलेको छ ।

आइतबार बिहान ११ वर्षीया छोरी आशा कठायत र पाँच वर्षीय छोरा दीपक कठायत सहित माया सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । श्रीमान् भूपेन्द्र कठायतले नै आइतबार बेलुका प्रहरी चौकी गुमीमा फोन गरेर घटना जानकारी गराएपछि प्रहरी र स्थानीय मिलेर खोजी अभियान थालेका थिए ।

खोजीका क्रममा घरबाट करिब तीन किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेका झोला, मोबाइल, चप्पल र सल फेला परेपछि उनीहरू नदीमा हामफालेको आशंका गरिएको थियो । त्यसपछि ३५ जना प्रहरी र स्थानीयको टोलीले नदी आसपास क्षेत्रमा खोजी थालेका थिए ।

सोमबार साँझ लेकबेशी नगरपालिका–३, पटारोस्थित भेरी नदीमा मायाको शव भेटिएको थियो भने मंगलबार बिहान गुर्भाकोट–१३ भम्कामा छोरी आशाको शव फेला परेको प्रहरीले जनाएको छ । छोरा दीपकको खोजी भने अझै जारी छ ।

घटनाअघि मायाले माइती पक्षसँग पटक–पटक आफ्नो पीडा पोख्दै आएको खुलेको छ । श्रीमान्को व्यवहारका कारण आफू र छोराछोरी असुरक्षित रहेको उनले आफन्तलाई सुनाउने गरेकी थिइन् । घटनाअघि उनी माइतीघर पुगेकी थिइन् र त्यहाँसमेत श्रीमान्ले कुटपिट गरेको आफन्तको भनाइ छ ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार माया घटनाभन्दा दुई दिनअघि शुक्रबार करिब एक घण्टाको दूरीमा पर्ने माइतीघर पुगेकी थिइन् । त्यहाँ उनी आफ्ना कान्छोबुबा अम्मरदेव गिरीको घरमा बसेकी थिइन् ।

मायाले आफू नेपालगञ्जबाट उपचार गरेर फर्किएको भन्दै अम्मरदेवलाई जानकारी गराएकी थिइन् । सोही दिन बेलुकापख उनका श्रीमान् भूपेन्द्रले अम्मरदेवलाई फोन गरी माया र छोराछोरीलाई घर पठाइदिन आग्रह गरेका थिए । अम्मरदेवले खाना खुवाएर माया र उनका छोराछोरीलाई आधा बाटोसम्म पु¥याए । तर केही घण्टापछि राति करिब ९ बजेतिर भूपेन्द्र आफैं अम्मरदेवको घर पुगेका थिए । त्यसपछि खोजी गर्दा माया छोराछोरीसहित नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा फेला परेकी थिइन् ।

त्यस क्रममा मायाले पारिवारिक सम्बन्धमा देखिएको तनावबारे खुलस्त बताएकी थिइन् । श्रीमानबाट आफूले निरन्तर कुटपिट र मानसिक यातना भोग्दै आएको उनले सुनाएकी थिइन् । अम्मरदेवका अनुसार सोही बेला आफ्नै अगाडि भूपेन्द्रले मायामाथि कुटपिटसमेत गरेका थिए । त्यस दिन माया अम्मरदेवकै घरमा बसिन् । भोलिपल्ट शनिबार छोरी आशा घर गएर बुबालाई खाना पकाएर खुवाइन् । बेलुकातिर भूपेन्द्र छोरीसहित पुनः माइतीघर पुगेका थिए र मायालाई फकाउने प्रयास गरेका थिए । माइती पक्षसँगको छलफलमा उनले विगतका गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएपछि माया आइतबार बिहान घर फर्किएकी थिइन् । तर घर फर्किएको केही घण्टामै उनी छोराछोरीसहित सम्पर्कविहीन भइन् ।

यसैबीच मायाका बुबा बालुदेव गिरीले ज्वाइँ भूपेन्द्रविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गराएका छन् । इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार जाहेरीका आधारमा भूपेन्द्रलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको छ ।

माया र उनकी छोरी आशाको शव मेहलकुना अस्पतालमा पोस्टमार्टम भइरहेको प्रहरीले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया