हरेक कामको मुल्याङ्कन र सम्मान गरौंः सरोकारवाला

सिर्जना बुढाथोकी ।
सुर्खेत। घरको भान्सा देखि कार्यालयमा हुने हरेक कामको मुल्याङ्कन र सम्मान गर्न जरुरी रहेको सरोकारवालाले बताएका छन् । महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन घरको काममा परिवार सबैले सहयोग गरि आयआर्जनमा जोड्न मद्धत गर्नुपर्ने उनीहरुले बताएका हुन् ।

युवालय र अक्सफामले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशस्तरिय केयर डाइलग कार्यक्रमका सहभागी सरोकारवालाले यस्तो बताएका हुन् ।
घरको भान्सा, छोराछोरी, बृद्धबृद्धा देखि घरको सरसफाई सबै काम गर्ने महिलाको कामको सम्मान नहुँदा महिलाहरु हिंसामा पर्ने गरेको दलित महिला संघ सुर्खेतका अध्यक्ष मञ्जु सुनारले बताइन् ।

उनले जागिर गरेर पैसा कमाउने महिला मात्रै सक्षम हुन भन्ने मानसिकताले घर सम्हाल्ने महिलाको कामको अपमान भएको उल्लेख गरिन् । ‘विहान उठेदेखी साझ नसुत्दासम्म बस्न नपाउने घरको काम हुन्छ तर त्यसको कुनै मुल्याकंन हुदैन’, उनले भनिन्, ‘दश चार अफिस गएर आउने अर्को सदस्य भने थाकेर आउने अनि दिनभरी काम गर्ने महिलालाई थकाई लाग्दैन? ।’ घरको काम गर्न कोहि दोस्रो व्यक्तिलाई ज्यालामा राखियो भने कति पैसा तिर्नुपर्छ र त्यो काम फ्रिमा आमा, दिदिले गर्दा विना कामको भन्ने सोच अब बदल्न जरुरी रहेको उनको जोड् छ ।

यस्तै, एकल महिला समूह सुर्खेतका अध्यक्ष ममता नगालले छोरी र बुहारी समान हुन भन्ने सोचले कामको बाडफाड गरि समान शिक्षाको पहुँचमा राख्न सके सबै नारी सक्षम हुने विश्वास व्यक्त गरिन् । उनले घर भित्रको काम पनि अत्यावश्यक र राम्रो काम हो भनि पाठ्यक्रममा समावेश गराउन सके साना बालबालिकामा सकारात्मक सोचको विकास हुने बताइन् ।

युवालयले कर्णाली प्रदेशको सुर्खेत र दैलेख गरि देशभरका १३ जिल्लामा महिलाको कामको मुल्यांकन कसरी भएको छ भनि गरेको रिसर्चमा २० प्रतिशत महिला घरभित्रैको काममा सिमित जुन पुर्णरुपमा निशुल्क रहेको पाइएको छ । घरको काममा खर्चिएको समय बाहिर लगाएको भए हुने आयआर्जनमा विकास भएपनि घरव्यवहार र परिवारको सद्भावमा भने आच आउने युवालयको रिसर्चको निश्कर्ष छ । आमाले घरमा गर्ने काम, परिवारलाई सम्हाल्ने आट, माया, ममतासँग कुनै कुराको बराबरी गर्न नमिल्ने भएकाले घरभित्रको कामको उचित सम्मानको आवश्यकता रहेको बताइएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले संघर्ष विना सफलता हात नपर्ने बताइन् । उनले पहिलाको तुलनामा परिवर्तन हुदै गएको बताउदै महिला पुरुष बराबरी भने पनि अझै भई नसकेको बताइन् । ‘अब महिलाले गर्न सक्छन् भन्ने होइन गरेर देखाउने हो । अवसरसँगै चुनौती हुन्छ सामना गर्न सक्नुपर्छ । आत्तिनु हुदैन’, उनले ,‘अब घरायसी काम पनि प्रतिव्यक्ति आयसँग गणना गर्न सक्नुपर्छ । बाहिरबाट ल्याएको पैसा मात्रै होइन, घरलाई सम्हाल्न र व्यवस्थापन गर्न निकै कठिन हुन्छ, जुन कुरा सबैले बुझ्न जरुरी छ ।’ राष्ट्रपति, सभामुख, सांसद, व्यापारी, शिक्षिका, स्वास्थ्य जस्ता हरेक क्षेत्रमा महिला भइसकेको अवगत गराउदै नगरप्रमुख ढकालले हेर्दा मसिनो लाग्ने तर ठुलो कुरा घरायसी कामको सम्मान हुन आवश्यक रहेको बताइन् ।

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाहीले यस्ता संवेदनशिल कुरामा सबैले छलफल तथा बहसको जरुरी रहेको बताए । उनले अब नितिगत छलफलमा ल्याउनुपर्नेमा जोड् दिएका छन् । ‘अर्थतन्त्र र सचेतना दुवै आवश्यक छ, जसका लागी मिडियाको भुमिका महत्वपुर्ण छ’, उहाँले भन्नुभयो,‘महिलालाई इम्पावर गराउन र आर्थिक रुपमा सशक्त गराउन सबैले आफ्नो आफ्नो घरबाट शुरु गरौ ।’ हरेक काम डकुमेन्टमा मात्रै नभई आर्थिकमा देखियो भने महिला सशक्तिकरणमा टेवा पुग्ने शाहीको भनाइ छ ।
 




फेसबुकबाट तपाईको प्रतिक्रिया