सुर्खेत । जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नदेखि शनिबारसम्म हिमाली क्षेत्रमा हिउँ र पहाडी तथा तराइ क्षेत्रमा पानि पर्ने सम्भावना रहेकाे बताएकाे छ बिहीबार विभागले विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रवार साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको जनाएको हो ।
विभागले सो प्रणालीको प्रभावका कारण शनिवारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानसहित गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात समेत हुनसक्ने जनाएको छ ।
साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
‘उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको छ’, विभागले सचेत गराएको छ ।
फ्याक्ट सञ्चार । २०८१ पुष ११ गते बिहिवार