पुर्वाधारको कमिले ओझेलमा परेको लेक मालारानी शिव गुफा

भावना राना ।
सुर्खेत । पर्यटकीय स्थलको प्रचुर सम्भावना बोकेको लेक मालारानी गुम्बा आवश्यक पूर्वाधार र प्रचारप्रसारको कमीले आझेलमा परेको छ ।
पर्यटन प्रवद्धनका लागि नेपाली सेनाले सुरुवात गरेको पदमार्ग यात्राको दोस्रो दिन लेक मालारानी शिव गुफा अवलोकन गरेको छ । ४ नं बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापाको नेतृत्वमा कालीबहादुर गणका गणपति शैलेन्द्र सिलवाल, उत्तर पश्चिन पृतनाका प्रवक्ता रेणु शाह र शिक्षालयका शिक्षा अधिकृत सन्तोश थापासहितको टोलीले पैदल पदयात्रा गरेका थिए ।

 

सुर्खेतको गुर्भाकोट नगरपालीका वडा न. २ मा रहेको लेकमालारानी गुफा प्रचारप्रसार र आवश्यक पूर्वाधारको विकास हुन नसक्दा आझेलमा परेको हो । गुफाभित्र विभिन्न देवी–देवता, भगवान शिव, शेषनाग र बाघको स्वरुप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जो कोही पनि चकित पर्ने गर्दछन् ।
आज भन्दा ४ वर्ष पहिला पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्ने सके पर्यटन प्रवद्र्धन हुने स्थानीयवासीको भनाइ छ ।


वर्षौं सम्म पत्तो नभएको गुफा हराएको बाख्रा खोज्ने क्रममा पत्ता लगाएको अमृत डाङ्गिले बताए । हराएको बाख्रा खोज्ने क्रममा आफ्नो घर भन्दा माथी आगो बलेको जस्तो देखेर के रहेछ भनेर हेर्न खोज्दा भित्र हेर्दै जादा भगवान शिवको मुर्तिहरु भएको गुफा भेटाएको उनको भनाई छ ।
गुफामा भित्रका प्रत्येक तहका भित्तामा विभिन्न स्वरुप देख्न पाइन्छ । बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित लेक मालारानी शिव गुफामा भगवान शिवको अवतरणहरु देखिने भएका कारण लेक मालारानी शिव गुफा नामाकरण हुन गएको जानकारहरु बताउँछन् ।


कुनै पनि पर्यटनस्थलमा पुग्न पर्यटकले आफ्ना लागि सुरक्षित यात्रा संग गाँसबाससँगै अन्य सुविधा खोज्ने गर्छन् तर यहाँ भन त्यस्ता पूर्वाधारको विकासले गति लिन सकेको छैन । यहाँ धार्मिक, सांस्कृतिक, पुरातात्विक, साहसिक, ग्रामीण पर्यटन लगायतको प्रचुर सम्भावना छ । आवश्यक पूर्वाधार नहुँदा आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था भने एकदमै न्यून रहेको यहाँका स्थानियको गुनासो छ ।

गुफासम्म पुग्नको लागि सामान्य मोटर बाटो पुगे तापनि प्रर्याप्त रुपमा त्यसको विकास हुन नसकेको स्थानीय अमृत डाङ्गिको गुनासो छ । पर्यटकीयस्थलसम्म पुग्न पर्यटकलाई सहज व्यवस्था नभएकाले यहाँको पर्यटन प्रवद्र्धनले गति लिन नसकेको उनको भनाई छ ।

गुफालाई पर्यटन प्रवद्धन गर्न स्थानिय अमृत डाङ्गिले आफ्नो नाममा रहको साढे तिन रोपनी जग्गा वडाको नाममा नामसारी समेत गरेका छन् । गुफा अवलोकनका लागि प्रति व्यक्ति रु २० को दरले लिने गरको छ । टिकटबाट जम्मा भएको रकम गुर्भाकोट नगरपालीकाको हुने गर्दछ । त्यसबाट संकलित रकम एकजना कर्मचारीको पारिश्रमिक र गुफाको विकासमा लगाउँदै आएको छ ।
गुफा संरक्षणको लागि नगरपालिकाले करिब ४० लाख बजेट विनियोजन गरेको छ । जसबाट बाटो देखि गुफासम्म पुग्ने सिँढी निर्माण साथै गुफा भित्रको सिँढी निर्माण, बत्ति जडान र मन्दिर निर्माणको कामको भैराखेको छ ।


नगरपालिकाले केही मात्रामा सहयोग गरेको भएता पनि प्रदेश सरकारले भने चासो नदेखाएको गुर्भाकोट नगरपालीका वडा न. २ का वडा अध्यक्ष नोख बहादुर वलिको भनाई छ ।
गुफाको प्रचारप्रसार र विकास गर्ने सके पर्यटकीय क्षेत्रको रुपमा विकास हुने र यसले स्थानीय बासिमा आर्थिक विकासमा टेवा पुग्ने बताउदै अहिले मुख्य समस्या गुफासम्म पुग्नका लागि मूलबाटो, गुफाको उत्खनन र भौतिक पूर्वाधार निर्माण रहेको वलिले बताए ।

यसैबीच गुर्भाकोट नगरपालिकाले लेक मालारानी शिव गुफा संरक्षण र सवद्र्धन गर्नका लागि विशेष योजना ल्याउने तयारी गरेको जनाएको छ ।
गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले गुफालाई पर्यटकीय गन्तव्य बनाउने योजना रहेको र सोहीअनुरुप कामलाई अगाडि बढाउने समेत बताए ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया