एमालेका अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री बन्ने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीका रूपमा एमाले संसदीय दलका नेता ओलीलाई नियुक्त गर्ने भएका हुन् ।

उनले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढ्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज बेलुका ५ बजेभित्र दाबी पेश गर्न अस्ति शुक्रवार आह्वान गएका थिए ।

आह्वान अनुसार एमालेका अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा शुक्रवार नै प्रधानमन्त्रीका लागि दाबी पेश गरिसकेका छन् ।

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन्।

आज समय ढिला हुने भएकाले भोलि बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीको शपथग्रहण कार्यक्रम हुने पनि प्रेस सल्लाहकार पोखरेलले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले शुक्रवार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

ओली चौथो पटक प्रधानमन्त्री हुन लागेका हुन्। यसअघि उनी २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री बनिसकेका छन् ।

नयाँ सत्ता समिकरण बनाएका कांग्रेस र एमाले पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न गृहकार्यमा जुटेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया