सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुगुबाट नेपाली कांग्रेसका खड्कबहादुर शाही विजयी भएका छन् । उनले नेकपा एमालेका पुर्णबहादुर रोकायालाई १ हजार १९६ मतको अन्तरले पराजित गर्दै जीत हासिल गरेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार शाहीले ७ हजार ९१४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी रोकायाले ६ हजार ७१८ मत ल्याएका छन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले ५ हजार ५५८ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का रंगवीर परिवारले २८० मत प्राप्त गरेका छन् ।
मुगुमा शाहीको जितसँगै कर्णाली प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रदेशका १० जिल्लाका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ५ क्षेत्रमा जित निकालेको छ । निर्वाचनको अन्तिम परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ४ सिटसहित दोस्रो दल बनेको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने १–१ क्षेत्रमा जीत निकालेका छन् ।

फ्याक्ट सञ्चार । २०८२ फाल्गुन २४ गते आइतवार