कहाँ छ र दशैं पहिला जस्तो

बसन्ती शाही ।

कहाँ छ र दशैं यहाँ पहिला पहिला जस्तो
पाईंदैन चीजबस्तु पनि राम्रो अनि सस्तो ।
न त भावना नै रह्यो प्यारो र अपनत्व ।
नाता गोता र समाज पनि सबै पराई जस्तो ।।
के भनेर ब्याख्या गर्नु, आफैलाई कस्तो कस्तो ।
कहाँ छ र दशैं यहाँ पहिला पहिला जस्तो ।।

रोटे पिङ्ग अनि लिङ्गे पिङ्ग र जमरा भारी ।
भेटिंदैनन् यहाँ गाँउतिर यूवा अनि तन्नेरी ।।
पोतिदैनन् आजकाल रातोमाटे र कमेरो ।
बाटो हेर्दै आँसु बगाउँछिन् घरमा महतारी ।।
सहयोगी हात छन्,
हात्तीको देखाउँने दाँत छन् ।
कहाँ छ र दशैं यहाँ पहिला पहिला जस्तो ।।

शहरियाहरुको दशैं यूरोप या अमेरीकामा ।
गाँउलेहरुको दशैं खाडीको मरुभूमीमा ।।
बुढा बा आमाहरु गाँउको झुपडिमा ।।।
समाज र सामाजिकता हराएको,
निर्माेही दुनियाँ नै कस्तो कस्तो ।
कहाँ छ र दशैं यहाँ पहिला पहिला जस्तो ।।

कसले काटी दिन्छ र घास पाल्नलाई खसी,
कसले काटी दिन्छ र मासुखानलाई खसी ।
बुहारीसंग घुम्न गएको छोराको बाटो हेर्छिन्,
बुढीआमा आगनीको डिलमा बसी बसी ।।
माया मोह हराएको एकलकाटे जस्तो ।
कहाँ छ र दशैं यहाँ पहिला पहिला जस्तो ।।

फोन गरेर छोरा भन्छ,
साईत भयो आमा टिका लगाई देउन ।
छोरी भन्छे आमा जमाराको फोटो खिचेर पठाई देउन ।।
हामीले खाईसक्यौं तिमी खाना खाउन ।।
कुरा गरौं एकछिन अनलाईनमा आउन ।
मूस्किल भयो दशैं अनि चाँड मनाउन यस्तो ।
कहाँ छ र दशैं यहाँ पहिला पहिला जस्तो ।।

सुनिदैनन् मालसिरी देउसी भैलोका मादलहरु ।
थपिदैछन् अनुहारमा रेखा अनि दुःखका बादलहरु ।।
आसुका भेलसंगै बगेका आँखाका काजलहरु ।।
सम्हालिन खोज्दा पनि,
फुस्किएका बढेसकालका लाजहरु ।।
सन्तान भएर पनि निःसन्तानी एक्लो यस्तो ।
कहाँ छ र दशैं यहाँ पहिला पहिला जस्तो ।।

छोरो भन्छ,
छुट्टी हुन्न रे, यहिं विदामा घुम्न जाने रे ।
आमाले दशैंमा दुई किलो मासु किनेर खाने रे ।।
बुहारी पनि आफैसंग घुमाउन लाने रे ।।
फर्किदा उतैबाट ससुराली जाने अरे ।।
ससुरालीमा टिका लगाई पुर्णेमा घर आउने रे ।।
अनि मात्र घरको सुकेको जमारा र टिका लाउने रे ।
जमाना पनि कस्तो कस्तो ।।
कहाँ छ र दशैं यहाँ पहिला पहिला जस्तो ।।

बारीमा पाकेका केरा, अम्बा र नास्पातीहरु ।
अरिङ्गालले खायो,
मगमग बास्ना आउने कुन्नी के जातीहरु ।।
ओखलमा हातले कुटेका बसाउने चिउराहरु ।।
डालो मै ढुसी परे बरै…..अब त म के गरु ???
दशा हो की के हो ? दशैं पनि कस्तो कस्तो ।
कहाँ छ र दशैं यहाँ पहिला पहिला जस्तो ।।

संगै बस्ने खाने रमाउने जमाना त सकिए जस्तो ।
चाँडबाडमा पनि काम, अनि आआफ्नो स्वार्थ कस्तो ?
माया पनि बनावटी अनि नखरा पारे जस्तो सस्तो ।।
सम्बन्ध अनि साईनो पनि कस्तो कस्तो ।।
औपचारिकता मात्रै निभाए जस्तो सस्तो ।।
कहाँ छ र दशैं यहाँ पहिला पहिला जस्तो ।।




फेसबुकबाट तपाईको प्रतिक्रिया