महायज्ञको आयव्यय सार्वजनिक, करिब १० करोड रकम संकलन

सुर्खेत । मानवसेवा आश्रम सुर्खेतको भवन निर्माणका लागि आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ ।

आश्रयविहीनहरुलाई आश्रय दिने उद्देश्यले वीरेन्द्रनगरको खुल्लामञ्चमा मंसिर २१ गते देखि २८ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ भएको थियो ।

महायज्ञबाट ९ करोड ७६ लाख ९२ हजार ८४३ रुपैयाँ दान संकलन भएको मूल आयोजक समितिले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

महायज्ञबाट करिब ५ करोड रकम संकलन हुने अपेक्षा गरिए पनि लक्ष्यभन्दा करिब दोब्बर बढी दान संकलन भएको महायज्ञ मूल आयोजक समिति संयोजक डा. नवराज केसीले जानकारी दिए ।

‘महायज्ञ मार्फत हामीले समुदायलाई जोडेका छौँ, एक रुपैयाँदेखि १ करोडसम्म पनि दान गर्नुभएको छ,’ केसीले भने, ‘सबै मनकारीहरूको साथ पाएर होला लक्ष्य भन्दा करिब दोब्बर दान रकम संकलन भएको छ ।’

महायज्ञबाट १ करोड ९७ लाख ६६ हजार ६५ रुपैयाँ नगद, १ करोड ३३ लाख २७ हजार ६०१ रुपैयाँ क्यूआर तथा अनलाइन माध्यमबाट प्राप्त भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष टिकाराम चपाइले जानकारी दिए ।

उनका अनुसार ३७ लाख ८८ हजार ९२१ रकम बराबरको चेक प्राप्त भएको छ । ५ करोड ४ लाख १६ हजार ३२ रुपैयाँ स्थानीय तह र विभिन्न संघ संस्थाहरूले प्रतिबद्धता गरेका छन् भने ५७ लाख ७९ हजार ५८२ रुपैयाँ व्यक्तिगत प्रतिबद्धता गरेका छन् ।

महायज्ञको कलश यात्रामा प्रयोग भएको कलश बिक्रीबाट मात्रै ४२ लाख ७४ हजार ८८२ रुपैयाँ सङ्कलन भएको छ । दान पेटिकामा प्राप्त दान ३ लाख २६ हजार ४५५ र किताब बिक्रीबाट १३ हजार ३०५ रुपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

महायज्ञको खर्च भने ५० लाख ७४ हजार ८७ रुपैयाँ भएको बताइएको छ । प्रचार प्रचार, यातायात, खाद्यान्न तथा भान्सा, विद्युत्, इन्धन, अतिथि सत्कार खर्च भएको मूल आयोजक समितिले जनाएको छ ।

सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथा वाचक रहेका थिए । उनले निःशुल्क कथा वाचन गरेका थिए ।

उक्त रकमबाट वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले प्रदान गरेका २९ बिघा जग्गा आश्रमको प्रदेश स्तरीय मानव स्मारक भवन निर्माण हुने छ ।

आश्रमको भवन निर्माणका लागि ९ देखि ११ करोड रुपैयाँ लाग्ने अनुमान छ । ‘सरकारको पूँजीले मात्र भवन निर्माण सम्भव थिएन । अहिले समाजको पूँजी पनि जुटेको’, केसीले भने, ‘अबको दुई/तीन महिनामै भवन निर्माण कार्य अगाडि बढ्छ ।’ भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्ने मात्र नभई मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको समेत स्थापना गरिने केसीले बताए ।

कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ दिने घोषणा गरेको छ ।

मानव सेवा आश्रमले एउटा छुटै विकास समिति गठन गर्ने र उक्त समितिले नै भवन निर्माण कार्य सम्पन्न गर्ने बताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया