सुर्खेतमा लागुऔषध ब्राउन सुगरसहित एक जना युवक पक्राउ

सुर्खेत। सुर्खेतमा लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–११ स्थित शुवाकुना क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले ९ ग्राम ३५० मिलिग्राम लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०६४३ नम्बरको ई.भी. सवारीलाई असार २८ गते राति साढे ९ बजे रोकी चेकजाँच गर्दा सवारीमा सवार युबराज शाहीलाई शंकास्पद रूपमा फेला पारेको थियो।

शाही जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका–२ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ चनौटेमा बसोबास गर्दै आएका २४ वर्षीय युवक हुन्।

प्रहरीले शाहीको शरीर खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने ९.३५० ग्राम (नौ ग्राम तीन सय पचास मिलिग्राम) लागुऔषध फेला परेको जनाएको छ। उक्त पदार्थ बरामद गरी शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

हाल पक्राउ परेका शाहीमाथि लागुऔषध सम्बन्धी कसूरमा म्याद थप गरेर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया