सुर्खेतबाट कर्णालीका महिलालाई फिस्टुला उपचारमा निःशुल्क सेवा, ४७७ जनाको सफल शल्यक्रिया

सुर्खेत। कर्णाली प्रदेश अस्पताल, सुर्खेतबाट फिस्टुलाबाट पीडित महिलाहरूलाई लक्षित गरी निःशुल्क उपचार सेवा प्रदान गरिँदै आएको छ। फिस्टुला उपचार केन्द्र, प्रदेश अस्पताल सुर्खेतका अनुसार साईनिङ अस्पताल सुर्खेत र आई.एन.एफ. नेपालको सहकार्यमा यो सेवा नियमित रूपमा जारी छ।

आई.एन.एफ. नेपालले सन् २००९ अगाडि पश्चिमाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिमका दुर्गम जिल्लामा स्त्रीरोगसम्बन्धी शिविर सञ्चालन गर्ने क्रममा फिस्टुलाका बिरामीहरू पहिचान गरिएपछि प्रारम्भमा काठमाडौस्थित पाटन अस्पतालमा पठाइन्थ्यो। तर, आर्थिक अभावका कारण धेरै बिरामी काठमाडौँसम्म पुग्न असमर्थ रहे। त्यसपछि सन् २००८ मा बेलायती स्त्रीरोग विशेषज्ञ डा. शेली हेउडले इथियोपियाबाट फिस्टुला शल्यक्रियाको तालिम लिएर फर्किएपछि सुर्खेतमै उपचारको सुरुवात भयो।

सन् २००९ देखि म.प.क्षेत्रीय अस्पताल (हाल कर्णाली प्रदेश अस्पताल) र आई.एन.एफ. नेपाल सुर्खेतको सहकार्यमा बार्षिक रूपमा शिविर सञ्चालन गर्दै फिस्टुला पीडित महिलाहरूलाई निःशुल्क सेवा दिइन थालिएको हो। सन् २०१८ सम्ममा २४५ जनाको शल्यक्रिया बार्षिक शिविरमार्फत, र थप २३२ जनाको उपचार नियमित सेवा केन्द्रमार्फत गरी हालसम्म ४७७ जना महिलाको सफल उपचार गरिएको छ।

सन् २०११ देखि २०१७ सम्ममा पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका २३९८ स्वास्थ्यकर्मीलाई फिस्टुलासम्बन्धी तालिम प्रदान गरिएको थियो।

जनवरी २०२० देखि दोस्रो चरणको जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम सुरू गरिएको छ, जसअन्तर्गत कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा महिला स्वयंसेविका, आमासमूह, स्वास्थ्यकर्मी, डाक्टर, नर्स विद्यार्थी तथा समुदायका ४१,४१९ जनालाई फिस्टुलासम्बन्धी जानकारी दिइएको छ।

फिस्टुला उपचार केन्द्रको स्थापनाका लागि सन् २०१४ मे १६ मा प्रदेश अस्पताल र आई.एन.एफ. नेपालबीच सम्झौता भएको थियो। आई.एन.एफ. को आर्थिक तथा प्राविधिक सहयोगमा १७ शैयाको भवन निर्माण गरी २०१८ मे २७ मा अस्पताललाई हस्तान्तरण गरियो।

२०७९ सालको अक्टोबरमा फिस्टुला उपचार केन्द्रलाई पूर्णरूपमा प्रदेश अस्पताल सुर्खेतमा समायोजन गरिएको छ। यद्यपि, आई.एन.एफ. नेपालले अझै पनि प्राविधिक सहयोग र निःशुल्क सेवा निरन्तरताका लागि सहयोग गर्दै आएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया