काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आजदेखि सुरु भएको पाँचौँ अधिवेशन कानुन निर्माण र जनसरोकारका मुद्दाको सम्बोधनलगायत विषयमा फलदायी हुने विश्वास व्यक्त गरेका छन्।
अधिवेशन प्रारम्भ भएलगत्तै प्रतिनिधिसभाका सदस्यलाई स्वागत गर्दै उनले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिइने भएकाले सदनमा व्यक्त विचारलाई परिस्कृत गर्दै नीतिनिर्माणसम्म पुगिने धारणा व्यक्त गरे।
सभामुख घिमिरेले भने, “संसद्मा विवाद, छलफल र बहस हुनु नौलो होइन तर हाम्रा निचोड सहमतिको सङ्गमस्थल बन्नुपर्दछ। जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित नभई, राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नुपर्छ।”
सत्तापक्ष र प्रतिपक्ष दुवैले तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसद्लाई प्रभावकारी बनाउन दायित्व निर्वाह हुने बताउँदै उनले परस्पर सम्मान, सहकार्य र एकताबाट नै मुलुकका विद्यमान समस्या निरुपण गर्न र नीतिनिर्माणका लागि ऐतिहासिक सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे।
उनले भने, “विगतका असल अभ्यासलाई निरन्तरता दिँदै राष्ट्र र जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु।”
फ्याक्ट सञ्चार । २०८१ माघ १८ गते शुक्रवार