हिजो देखि सुर्खेत महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु

सुर्खेत । हिजो देखि सुर्खेत महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । हिजो शनिबार सुर्खेत महिला जेसीजले सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्दै सुरुवात गरेको हो ।

हरेक वर्ष जेसीजको महान् चाडको रुपमा जेसीज सप्ताह मनाउदै आइरहेको सप्ताहव्यापी कार्यक्रम वर्ष २०२४ को हिजो देखि सुरु भएको हो ।

शनिबार देखि सुरु गरिएको सप्ताहव्यापी कार्यक्रम असोज १२ गत्ते सम्पन्न हुनेछ । एक हप्ताभरि विभिन्न कार्यक्रमहरु गरि मनाउने सुर्खेत महिला जेसीजले जनाएको छ ।

आज सप्ताहव्यापी कार्यक्रमको सम्उद्घाटन सगैं वक्तृत्वकला प्रतियोगिता कार्यक्रम समेत गरेको छ । तुल्सी थापाको सम्झनामा तुल्सी स्मृति वक्तृत्वकला प्रतियोगिता राखिएको समेत सुर्खेत महिला जेसीजले जनाएको छ ।

सोच परिवर्तनले संसार परिवर्तन हुन्छ भन्ने शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका भित्र रहेका विभिन्न ११ वटा विद्यालयका २१ जना छात्राहरुको सहभागिता रहेको थियो ।

वक्तृत्वकला कार्यक्रममा शिव मा.वि.लाटिकोइलीबाट प्रतिनिधित्व गरेकी स्वस्तीका चौधरीले प्रथम स्थान हासिल गरेकी छिन् । सैनिक आवासिय महाविद्यालय सुर्खेतकी प्रजिमा खड्काले द्धितिय स्थान हासिल गरेकी छिन् भने सुर्योदय बोर्डिङ स्कुलकी एलिजा बस्नेतले तृतिय स्थान हासिल गरेकी छिन् ।

यस्तै, साउथ एशियन स्कलर्स एकेडेमीकी समिक्षा खड्का र अमरज्योति नमुना मा.वि. नेवारेकी दिया वि.कले सान्तवना स्थान हासिल गर्न सफल भएका छन् ।

वक्तृत्वकला कार्यक्रममा विभिन्न स्थान हासिल गर्न सफलभएका छात्राहरुलाई सप्ताहव्यापी कार्यक्रमको समापन कार्यक्रममा पुरस्कार र सम्मान पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकार शिक्षा विकास निर्देशनालयका निर्देशक दिपा हमालले सुर्खेत महिला जेसीजले नेतृत्व र व्यक्तित्व विकास गरेको भन्दै प्रशंसा गरिन् । उनले वक्तृत्वकला प्रतियोगिता कार्यक्रमले विद्यालयका छात्राहरुको नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुगेको बताउदै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिइन् ।

हमालले शिक्षाको क्षेत्रमा कामहरु गर्नका लागि तथा सरकारी सेवामा कार्यरत महिला कर्मचारीको नेतृत्व र व्यक्तित्व विकास गर्नका लागि सुर्खेत महिला जेसीजलाई आफुहरुसंग सहकार्य गरेर अगाडी बढ्न समेत आग्रह गरिन् ।

यता, सुर्खेत महिला जेसीजकी अध्यक्ष मिना गुरुङले जेसीज नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था भएकाले आफ्ना सदस्यहरुको मात्र नभई समाजमा रहेका हरेक नागरिकको नेतृत्व र व्यक्तित्व विकासमा अग्रसर रहने बताइन् ।
उनले जेसीज सप्ताहभरी नै विभिन्न कार्यक्रमहरु गरेर मनाउने समेत बताइन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया