सुर्खेत। सुर्खेत महिला जेसीजको आयोजनामा एकदिने पार्लामेन्टी प्रोसिड्योर (संसदीय प्रक्रिया) सम्बन्धी तालिम सम्पन्न भएको छ।
शनिबार सम्पन्न उक्त तालिममा संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तालिममा संसदीय प्रक्रियाका नियम, छलफल तथा निर्णय प्रक्रियाहरू,बैठक सञ्चालनका विधिहरू तथा लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।
प्रशिक्षक सुर्खेत महिला जेसीजका संस्थापक महासचिव ज्योति कार्की पौडेलले सहभागीहरूलाई संसदीय प्रक्रियाका आधारभूत पक्षहरूबारे जानकारी दिँदै प्रभावकारी नेतृत्वका लागि आवश्यक सीपहरूबारे छलफल गरेकी थिइन्।
उनले बैठक सञ्चालनका विधिहरूको जानकारी दिदै अभ्यास समेत गराएकी थिईन् ।
कार्यक्रममा सुर्खेत महिला जेसीजकी अध्यक्ष कमला बस्याल देवकोटाले संस्थाले क्षमता विकास तथा नेतृत्व निर्माणमा योगदान पुर्याउने उद्देश्यका साथ यस्ता कार्यक्रम गर्दै आएको बताइन्।
उनले सहभागिता जनाएका सबैलाई धन्यवाद दिंदै सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरिन्।
कार्यक्रममा २५ जनाको सहभागिता थियो । सहभागीहरूले तालिमले उनीहरूको नेतृत्व तथा निर्णय क्षमतामा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन्।
कार्यक्रमको समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।
फ्याक्ट सञ्चार । २०८१ फाल्गुन १७ गते शनिवार