जुम्ला । नेपाली भाषाको उद्गमस्थल तथा तत्कालीन खस राजधानी सिँजा उपत्यकालाई विश्वसम्पदा सूचीमा राख्न पहल सुरु भएको छ ।
सिँजा उपत्यकालाई विश्वसम्पदा सूचीमा राख्न आधार तयार गर्न अहिले पुरातत्व विभागको एक टोली सिँजामा आएर अध्ययन अवलोकन गरिरहेको छ । सो विषयमा पुरातत्व विभागले स्थानीयसँग छलफलसमेत गरेको छ ।पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गसहितको सात जनाको टोलीले सिँजा गाउँपालिकामा अन्तर्क्रिया तथा सिँजा उपत्यकामा रहेका कनकासुन्दरी तथा हिमा गाउँपालिकासँग बसेर छलफलसमेत गरेको छ ।
सिँजा गाउँपालिकामा गरिएको अन्तर्क्रियामा महानिर्देशक प्रधानाङ्गले सिँजा उपत्यकालाई समेट्ने आधार तयारका लागि स्थानीय सरकारको समन्वयमा सिँजामा आएको जानकारी दिए। उनले विश्वसम्पदा सूचीमा पार्ने विषयमा एक भएको तर आधुनिक विकासका नाममा प्राचीन सम्पदा मास्ने काम रोक्नुपर्ने भएकाले पुरातत्व विभागले सक्रियता देखाएको बताए ।
हाल लुम्बिनी र काठमाडौँ उपत्यका विश्वसम्पदा सूचीमा छन् । उनले काठमाडौँ उपत्यकाको पशुपतिनाथ मन्दिर, चाँगुनारायाण, बौद्ध स्तूपा, काठमाडौँ, भक्तपुर, पाटन दरबार क्षेत्र विश्वसम्पदा सूचीमा परेका भन्दै पुरातत्व विभागले अहिले देशका नयाँ १५ वटा क्षेत्र विश्वसम्पदा सूचीमा राख्न तयारी गरिरहेको जानकारी दिए । यिनमा कर्णाली क्षेत्रको सिँजा उपत्यका र दुल्लुका २२ देवल छन् । उनले अहिले विकास भइरहेको भन्दै तर विकासका नाममा धमाधम सम्पदा मासिने कामले संस्कृति नै ध्वस्त हुने खतरा बढेको उल्लेख गरे । विभागले अब सिँजालाई विश्वसम्पदा सूचीमा समेट्न काम अगाडि बढाउने तयारी पनि गरिरहेको उनले बताएका छन् ।
सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सिँजालाई विश्वसम्पदा सूचीमा राख्न पटक पटक पुरातत्व विभागमा पहल भएको स्मरण गराए। उनले नेपालीको महत्वपूर्ण पहिचानको क्षेत्र सिँजा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने प्रयत्न चाँडो गर्न आग्रह गर्दै त्यसका लागि सिङ्गो पालिकाले पनि पहल जारी राख्ने बताए।
सिँजा गाउँपालिका–५ का नन्दबहादुर रावलले ढिलै भए पनि सिँजालाई विश्वसम्पदा सूचीमा राख्ने काम अगाडि बढेकोमा खुसी व्यक्त गरे। ऐतिहासिक सिँजाका सम्पदा संरक्षणको अभाव भएको बेला पुरातत्व विभागको यस कार्यलाई सिँजावासीले सराहना गरेका छन् ।
झन्डै १२ औँ शताब्दीमा सिँजामा तिब्बती मूलका राजा नागराजले खस साम्राज्यको शासन सुरु गरेको तथा नेपाली भाषाको उद्गमस्थल सिँजा ऐतिहासिक, पुरातात्त्विक, भाषिक, सांस्कृतिक हिसाबले धनी भए पनि यसको संरक्षणको पर्खाइमा रहेको छ । सिँजाको विकासका लागि सिँजा विकास तथा प्रतिष्ठान विधेयक सरकारमार्फत अगाडि बढे पनि त्यसमा ढिलाइ भइरहेको छ ।
फ्याक्ट सञ्चार । २०८१ चैत्र २ गते आइतवार