दुर्गा प्रसाईँ भारतको आसामबाट पक्राउ, नेपाल ल्याउने प्रक्रिया सुरु

काठमाडौं। पछिल्लो समय विवादास्पद अभिव्यक्ति र आन्दोलनका कारण चर्चामा रहेका राजसंस्था समर्थक दुर्गा प्रसाईँ भारतको आसाम राज्यबाट पक्राउ परेका छन्।

तीनकुनेमा चैत १५ गते भएको झडप तथा हिंसात्मक घटनामा संलग्न रहेको आरोप लागेपछि उनी फरार भएका थिए।

प्रहरी स्रोतका अनुसार प्रसाईँलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा पक्राउ गरिएको हो। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड कर्नर नोटिस जारी भएपछि ट्रयाक गरेर समातिएको बताइएको छ।

नेपाल प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरेपछि छिट्टै नेपाल ल्याइने जानकारी प्राप्त भएको छ।

चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा प्रसाईँ नेतृत्वको ‘राष्ट्रिय शक्ति नेपाल’ समूहले आयोजना गरेको विरोध प्रदर्शन हिंसात्मक बनेको थियो। सो क्रममा दर्जनौं प्रहरी घाइते भएका थिए भने सरकारी तथा निजी सम्पत्ति तोडफोड गरिएको थियो। सोही घटनापछि प्रसाईँमाथि सार्वजनिक अपराध, हिंसा उक्साएको, प्रशासनको आदेश उल्लंघन गरेको लगायत आरोपमा मुद्दा दर्ता गरिएको थियो।

यसअघि पनि उनले संवैधानिक संस्थाहरूप्रति अपमानजनक अभिव्यक्ति दिएको, सरकारविरुद्ध उत्तेजक भाषण दिएको आरोप लाग्दै आएको छ।

प्रसाईँका समर्थकहरूले भने यो गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।

अहिले नेपाल प्रहरी र गृह मन्त्रालयको समन्वयमा उनलाई छिट्टै स्वदेश फर्काएर कानुनी कारबाही अघि बढाइने तयारी भइरहेको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया