दैलेखमा रहस्यमय शैलीमा तीन महिनाको शिशु बेपत्ता

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका-१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशुलाई रहस्यमय तरिकाले बेपत्ता पारिएको छ।

स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढा सोमबार राति करिब ९ बजेतिर अपहरण शैलीमा बेपत्ता पारिएको हो। उक्त शिशु तीन महिना अघिमात्र जन्मिएकी थिइन्।

शिशुका काका दीपक बुढाका अनुसार सो समयमा घरका सबै सदस्य सुतिसकेका थिए। यत्तिकैमा घर पछाडिको रुखमा राखिएको खरमा अचानक आगो लाग्यो।

“माथिल्लो घरका मान्छेले देखेर खबर गरे,” उनले भने, “त्यसपछि बच्चाको आमा, बुबादेखि सबैजना आगो निभाउन गएका थिए।”

आगो निभाएर फर्कँदा शिशु बेपत्ता भएको उनले बताए। कुनै समूहले बच्चा चोर्ने योजनाअनुसार खरमा आगो लगाएर ध्यान अन्यत्र मोड्ने प्रयास गरेको संका गरिएको उनले बताए ।

“हराएको बच्चासङ्गै अर्को ठूलो छोरा पनि सुतिरहेको थियो,” बुढाले भने, “फर्कँदा छोरो  सुतिरहेकै थियो, तर सानो थिएन।”

घटनापछि तत्कालै स्थानीयहरूले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए। प्रहरी राति नै घटनास्थल पुगे पनि प्रारम्भिक खोजीमा कुनै संकेत (‘क्लु’) फेला नपरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिए।

अचम्म लाग्दो घटना भएको बताइदै अनुसन्धानको लागि अहिले पुनः थप प्रहरी टोली परिचालन गरेको दाहालले बताए।

बच्चाको परिवारले सामाजिक सञ्जालमार्फत र प्रहरी समक्ष सहयोगको अपिल गरेका छन्।
सम्पर्क: ९८६८०६१५८९




फेसबुकबाट तपाईको प्रतिक्रिया