सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लागुऔषध दुर्व्यसन गम्भीर समस्या बन्दै गएको छ। पछिल्ला तीन वर्षको प्रहरी तथ्यांकले वीरेन्द्रनगरमा लागुऔषध प्रयोग, ओसारपसार र बिक्रीवितरण तीव्र गतिमा बढिरहेको देखाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार १८ देखि ४५ वर्ष उमेर समुहका युवाहरू लागुऔषधमा बढी फसिरहेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार तीन वर्षको अवधिमा मात्रै १८ देखि ४५ वर्ष उमेर समूहका ९० जना पक्राउ परिसकेका छन्।
लागुऔषध नियन्त्रणका लागि प्रहरीले लालटिन अभियान, घरदैलो कार्यक्रम, पर्चा वितरणदेखि पुनर्स्थापना केन्द्रको अनुगमन, हटस्पटमा सचेतनामूलक कार्यक्रमजस्ता धेरै काम गरिरहेको छ। तर, परिवार, समाज र स्थानीय सरकार नै जिम्मेवार नभएपछि भने यो समस्या अझै विकराल बन्ने डिएसपि विश्वकर्मा बताउछन् । उनका अनुसार प्रहरी एक्लैले यो समस्या समाधान गर्न नसक्ने हुदा परिवार, विद्यालय र समुदायको भूमिकालाई अझै सशक्त बनाउन आवश्यक रहेको बताइएको छ।
पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा लागुऔषधसम्बन्धी २ सय ३५ वटा मुद्दा दर्ता भएका छन्। यसमा ३ सय ६९ जना पक्राउ परेका छन् जसमा अधिकांश ब्राउन सुगर प्रयोगकर्ता छन् भने महिला र बालबालिकाको संलग्नता पनि बढ्दो रहेको छ ।
२०७९/०८० मा ८८ मुद्दा दर्ता भई १ सय ४८ जना पक्राउ परेका थिए। सो अवधिमा प्रहरीले १ सय ६२ ग्राम ब्राउन सुगर, ७ सय ६२ ग्राम गाँजा, ४८ ट्याब्लेट नाइट्राजोपामसहित विभिन्न लागुऔषध बरामद गरेको थियो।
यस्तै, २०८०/०८१ मा ७४ मुद्दा दर्ता भएका थिए जसमा १ सय ९ जनालाई पक्राउ गरिएसँगै १ सय १८ ग्राम ब्राउन सुगर र अन्य लागुऔषध बरामद गरिएको थियो।
चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्ममा ७३ मुद्दा दर्ता भइसकेका छन्, जसमा १ सय १२ जना पक्राउ परे । उनीहरूबाट १ सय ५३ ग्राम ब्राउन सुगर, ५ हजार २३ ट्याब्लेट ट्रामाडोल, १६० नाइट्राजेपाम ट्याब्लेटलगायतका लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्यांकले जनाउछ।
प्रहरी तथ्यांकअनुसार वीरेन्द्रनगर नगरपालिका ४ र ११ नं वडाहरू बढी प्रभावित रहेका छन्। चालु आर्थिक वर्षमा वडा नं ४ बाट १२ र वडा नं ११ बाट ११ जनालाई लागुऔषध मुद्दामा पक्राउ गरिएको छ।
प्रभावित वडामा १८ देखी २५ वर्षका युवाको संलग्नता उच्च देखिएको छ। चालु वर्षमा मात्रै यो उमेर समूहका ४७ जना पक्राउ परेका छन्।
संविधानले स्थानीय तहलाई लागुऔषध न्यूनीकरणमा सक्रिय भूमिका खेल्न जिम्मेवारी दिएको भए पनि वीरेन्द्रनगर नगरपालिकाले यो विषयमा बेवास्ता गरेको आरोप छ। चालु आर्थिक वर्षमा नगरपालिकाले यसका लागि जम्मा पाँच लाख रुपैयाँ मात्र बजेट छुट्याएको छ। वीरेन्द्रनगर नगरपालिकाका सूचना अधिकारी टंकप्रसाद लामिछानेका अनुसार प्रहरी र नगरपालिका संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको हो।
प्रदेश सरकारले पनि चालु आर्थिक वर्षमा लागुऔषध न्यूनीकरणका लागि १० लाख रुपैयाँ मात्र छुट्याएको भएतापनि यो समस्या अनुसार पर्याप्त मानिंदैन।
२०७८ को जनगणना अनुसार वीरेन्द्रनगर नगरपालिकामा १ लाख ५३ हजारभन्दा बढी जनसंख्या रहेको छ। कर्णालीका सबै जिल्लाका मानिस वीरेन्द्रनगरमा बसोबास गर्ने भएकाले पनि जनसंख्याको चाप अत्यधिक छ। यस्तो अवस्थामा सामाजिक समस्याहरू नियन्त्रणमा ल्याउन स्थानीय तह अझ बढी जिम्मेवार हुनुपर्ने भएतापनि लगानी र प्रतिबद्धता हेर्दा जिम्मेवार नभएको देखिन्छ ।
प्रहरी अनुसन्धान अनुसार लागुऔषधहरू भारतको बलरामपुर, रूपैडिया र बर्दियाको सीमाबाट सुर्खेत भित्रिने गरेका छन्। युवाहरू सजिलै आपूर्ति गर्न सक्ने र धेरै नाफा हुने प्रलोभनमा लागुऔषध कारोबारमा आकर्षित हुने गरेको प्रहरीको भनाइ छ।
फ्याक्ट सञ्चार । २०८१ चैत्र २८ गते शुक्रवार