दैलेखमा अपहरणमा परेकी शिशु सकुशल फेला, एक युवती पक्राउ

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी तीन महिनाकी बालिका श्रीया बुढा सकुशल फेला परेकी छिन्।

शिशुलाई चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ स्थित लामिडाँडा जंगलतर्फ लिएर जाँदै गरेको अवस्थामा प्रहरीले एक २० वर्षीया युवतीलाई पक्राउ गरेको हो। पक्राउ परेकी युवती सोही क्षेत्रको सिरवलकी शर्मिला विष्ट भएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए।

बालिकाको अवस्था सामान्य रहेको र हाल उनी आफ्नै परिवारको जिम्मामा फर्किएकी छन्। प्रारम्भिक अनुसन्धानमा शर्मिलाले बालिका आफूले अपहरण नगरेको दाबी गरेकी छन्। उनले दुल्लुबाट आएका तीन जना पुरुषले बालिका आफूलाई दिएर भागेको बताएकी छिन्।

घटना बिहीबार राति करिब ९ बजेतिर भएको हो। घर पछाडिको रुखमा राखिएको खरमा अचानक आगो लागेको हुँदा घरधनी बमबहादुर बुढा र उनकी पत्नी छोराछोरीलाई घरमै सुताएर आगो निभाउन गएका थिए। उनीहरू फर्कँदा तीन महिनाकी छोरी श्रीया घरमै थिइनन्।

पारिवारिक सूचना आधारमा ठाटीकाँध प्रहरीले खोजी कार्य थालेको थियो। आज शुक्रबार बिहान जंगलबाट बालिकासहित युवतीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया