सुर्खेत महिला जेसीजद्वारा मातातिर्थ औंशीमा गौशालामा गौसेवा

सुर्खेत। मातातिर्थ औंशीको अवसरमा सुर्खेत महिला जेसीजले वीरेन्द्रनगर–११ स्थित सुन्दर कर्णाली गौशालामा गौमातालाई दानापानी खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।

धार्मिक तथा सामाजिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा महिला जेसीजका सदस्यहरूले सामूहिक रूपमा गौमातालाई दाना र पानी खुवाए।

कार्यक्रममा सुर्खेत महिला जेसीजकी अध्यक्ष कमला बस्याल देवकोटाले मातातिर्थ औंशी जस्तो पावन अवसरमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने खालका कार्य आवश्यक रहेको बताइन्।

उनले भनिन्, “गौमाताको सेवा गर्नु हाम्रो संस्कृति र आस्थासँग गहिरो सम्बन्ध राख्दछ। सुर्खेत महिला जेसीजले सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता कार्यहरू गर्दै आएको छ र आगामी दिनमा अझ सक्रिय रुपमा निरन्तरता दिनेछ। हाम्रो प्रयास धार्मिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउने हो।”

त्यस्तै, सुन्दर कर्णाली गौशालाका अध्यक्ष तारा केशर पौडेलले पनि महिला जेसीजको पहललाई धन्यवाद दिँदै गौसंरक्षणको महत्वमा जोड दिए। उनले भने, “गौमाताको सेवा र संरक्षण हाम्रो धर्म र कर्तव्य हो। गौशालामा रहेका गाईहरूको उचित संरक्षण, आहार र उपचारका लागि हामी निरन्तर प्रयासरत छौं। महिला जेसीजजस्तो संस्थाको समर्थनले हामीलाई अझ हौसला मिलेको छ।”

कार्यक्रममा महिला जेसीजका पदाधिकारी, सदस्यहरू तथा स्थानीय समाजसेवीहरूको सक्रिय उपस्थिति थियो। सहभागीहरूले सामूहिक रूपमा गौसेवा गर्दै मातृ दिवसलाई अर्थपूर्ण बनाएका थिए।

सुर्खेत महिला जेसीजले विगतदेखि नै शिक्षा, स्वास्थ्य, सामाजिक जागरण तथा मानव सेवा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया