दैलेखमा मिथेन ग्यास उत्खननको प्रतीक्षा : ड्रिलिङको आवाज हराएपछि बढ्यो अन्योल

सुर्खेत । भैरवी गाउँपालिका–१, जलजलेका ६५ वर्षीय शेरबहादुर थापा केही महिना अघिसम्म दिनरात गुञ्जिने ड्रिलिङ मेसिनको आवाजले हैरान हुनुहुन्थ्यो । सुरुवातमा असहज लाग्ने त्यो आवाज समयसँगै बानी बनेको थियो । तर अहिले लामो समयदेखि ड्रिलिङको आवाज हराएको छ । सुरक्षा घेराभित्र रहेको ‘रिङ हाउस’ मौन बनेको छ । अहिले त त्यो आवाज नै सम्झनामा आइरहेको छ, फेरि कहिले सुरु होला भनेर प्रतीक्षा गरिरहेका छौँ  थापाले भने ।

सोही स्थानका अर्का स्थानीय जगत महतारा पनि अहिलेको सुनसान अवस्थाले चिन्तित हुनुहुन्छ। केही समयअघि पेट्रोलियम अन्वेषणका लागि दैलेख आएका प्राविधिक र उपकरणले स्थानीयमा जिज्ञासासँगै उत्साह पनि थपेको उहाँ सम्झनुहुन्छ। “मिथेन ग्यास भेटिएको खबरले खुसी दियो, तर अहिले सबै सुनसान छ। अब उत्पादन कहिले सुरु हुन्छ भन्ने प्रतीक्षामै छौँ उहाँले भन्नुभयो । यी स्थानीयको मात्र होइन, दैलेखका राजनीतिक दल, नागरिक समाज, उद्योगी तथा व्यापारी सबैको चासो अहिले मिथेन ग्यास उत्खननतर्फ केन्द्रित छ । उत्पादन प्रक्रिया कहिले अगाडि बढ्छ भन्ने जिज्ञासा दिनप्रतिदिन बढ्दै गएको छ । यहीबीच नेपाली कांग्रेसका नेता देवेन्द्रबहादुर थापाले प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमार्फत खुला पत्र लेख्दै दैलेखमा सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण कार्य तत्काल अगाडि बढाउन माग गर्नुभएको छ ।

दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा चीनको जियोलोजिकल सर्भेले गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदनअनुसार ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास रहेको पुष्टि भएपछि उत्पादन परीक्षणका लागि चीन सरकारलाई प्रस्ताव पठाइएको थियो । तर हालसम्म त्यसबारे कुनै औपचारिक जवाफ नआएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

खानी तथा भूगर्भ विभागका जियोलोजिस्ट प्रकाश लुइटेलका अनुसार प्रारम्भिक प्रतिवेदनमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास रहेको तथ्य आएको छ । “हाल त्यसको प्राविधिक अध्ययन भइरहेको छ। आधिकारिक रूपमा प्रतिवेदन हस्तान्तरण हुन बाँकी छ, तर त्यसकै आधारमा अध्ययन प्रक्रिया अघि बढिरहेको छ,” उहाँले बताउनुभयो । उत्पादनका लागि दोस्रो चरणको काम अगाडि बढाउन प्रस्ताव पठाइसकिए पनि हालसम्म जवाफ नआएको उहाँको भनाइ छ । जियोलोजिस्ट लुइटेलका अनुसार नेपाल र चीनको आर्थिक वर्ष फरक समयमा सुरु हुने भएकाले प्रस्ताव प्रक्रिया अघि बढ्न ढिलाइ भएको हो । “चीनको आर्थिक वर्ष जनवरीबाट सुरु हुने भएकाले अब जनवरी लागेसँगै हामीले पठाएको प्रस्ताव अघि बढ्नेमा विश्वस्त छौँ,” उहाँले भन्नुभयो ।

उहाँले यस विषयमा नेपाल सरकार तथा सम्बन्धित उद्योग, वाणिज्य मन्त्रालयले आवश्यक चासो लिएर प्रक्रिया तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो। पहिलो चरणको अन्वेषण कार्य नेपाल र चीन सरकारबीच जिटुजी सहकार्यमा सम्पन्न भएकाले उत्पादनका लागि दोस्रो चरण पनि सोही ढाँचामा अघि बढ्नुपर्ने उहाँको धारणा छ ।

दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र थापाले दैलेखमा भेटिएको मिथेन ग्यास उत्खननका लागि राजनीतिक दल, उद्योगी र व्यापारीहरूले सरकारसमक्ष ज्ञापनपत्र बुझाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले वर्षौँदेखिको आम नेपालीको सपना पूरा हुन लागेको अवस्थामा जुनसुकै सरकार आए पनि यो परियोजना निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । सन् २०१९ देखि अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक अध्ययनले नेपाललाई ५० देखि ६० वर्षसम्म पुग्ने प्राकृतिक ग्यासको सम्भावना देखाएको उल्लेख गर्दै अध्यक्ष थापाले नेपाल सरकारले स्पष्ट कार्ययोजना निर्माण गरी उत्पादनतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया