शिक्षक आन्दोलन : सांसदद्वारा विद्यालय फिर्ताको वातावरण सिर्जना गर्न सरकारलाई आग्रह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। आकस्मिक समयको वक्तव्यमा उनीहरूले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा भएको झडपप्रति दुःख व्यक्त गर्दै सुरक्षाकर्मीको दमन रोक्न आग्रह गरे।

सांसदहरूले विद्यालय शिक्षा ऐन तत्काल ल्याएर शिक्षकहरूको जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसदहरूले सरकारले आन्दोलनप्रति गम्भीरता नदेखाएको भन्दै आलोचना गरे। आइतबार आन्दोलनका क्रममा प्रहरीद्वारा पानीको फोहोरा र लाठी प्रहार गरिएर धेरै शिक्षक घाइते भएको घटनाको पनि तीव्र भर्त्सना गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले शिक्षकको माग उचित भएको र आन्दोलनका कारण बालबालिका शिक्षाबाट वञ्चित भइरहेका कारण चाँडो समाधान खोज्नुपर्ने बताइन्। साथै, पत्रकारमाथि भएको आक्रमणको पनि उनले आलोचना गरिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले शिक्षकमाथिको दमनलाई दुःखद् भन्दै सरकारसँग समस्या समाधानको माग गरिन्। उनले आवासीय चिकित्सकहरूको माग पनि सम्बोधन गर्न सरकारलाई आग्रह गरिन्।

नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले प्रहरीले संयमता अपनाउनु पर्ने र यस्ता घटना दोहोरिन नदिन ध्यान दिनुपर्ने बताए। उनले विद्यालय शिक्षा ऐनको प्रगति विषयमा संसदलाई शिक्षामन्त्रीले जानकारी दिनुपर्ने माग गरे।

त्यस्तै, आम जनता पार्टीका सांसद प्रभु साहले मधेस प्रदेशमा असिनापानी र हावाहुरीले मकैबाली तथा अन्य उत्पादन नष्ट भएको र सेवा प्रभावित भएकाले तत्काल राहतको व्यवस्था गर्न सरकारसँग अनुरोध गरे।

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सर्लाहीको विद्यालय व्यवस्थापनमा सुधारको माग गरे भने सांसद रणेन्द्र बरालीले दलितमाथिको भेदभाव अन्त्य र शिक्षकको माग तत्काल सम्बोधन गर्न आग्रह गरे। सांसद कान्तिका सेजुवालले आन्दोलनमा घाइते शिक्षक तथा सुरक्षाकर्मीको स्वास्थ्यलाभको कामना गरिन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया