काठमाडौँ। आज देशभर विविध कार्यक्रमहरू आयोजना गरी २९औँ राष्ट्रिय चिया दिवस मनाइँदैछ। ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ विभिन्न स्थानमा चिया सम्बन्धी कार्यक्रमहरू हुँदै छन्।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले हरिहरभवन, पुल्चोकमा विशेष चिया प्रदर्शनी आयोजना गरेको छ। नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीमा देशभरका विभिन्न जिल्लामा उत्पादन भएका चिया प्रकारहरू प्रदर्शन गरिँदै छन्। कार्यक्रममा चिया किसान, मजदुर, सहकारी, उद्योगी, व्यवसायी तथा सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूबीच छलफल समेत हुने बोर्डले जनाएको छ।
बोर्डका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात भइसकेको छ। चालु वर्षको अन्त्यसम्म चिया निर्यात चार अर्ब ५० करोड रुपैयाँ हाराहारीमा पुग्ने अनुमान गरिएको छ।
चिया तथा कफी विकास बोर्डका अधिकृत चन्द्र पुरीका अनुसार नेपालको चिया उद्योगले करिब ६० हजार जनालाई रोजगारी सिर्जना गरेको छ। देशभर १७१ वटा ‘टि स्टेट’ र साना–मझौला गरी कुल १२० वटा चिया प्रशोधन केन्द्रहरू सञ्चालनमा छन्। नेपालमा १५ हजारभन्दा बढी चिया किसान सक्रिय रहेका छन्।
फ्याक्ट सञ्चार । २०८२ बैशाख १५ गते सोमवार