काठमाडौँ। गएको चैत महिनामा देशभर ४ हजार ९१५ वटा मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार चैतमा सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा १ हजार २६९ वटा मुद्दा दर्ता भएका छन्।
प्रदेशगत रूपमा हेर्दा मधेशमा सबैभन्दा धेरै ८८९ वटा र कर्णालीमा सबैभन्दा कम १६२ वटा मुद्दा दर्ता भएका छन्। त्यसैगरी, कोशीमा ७७२, बाग्मतीमा ४८५, गण्डकीमा ३६७, लुम्बिनीमा ६२२ र सुदूरपश्चिममा ३४९ वटा मुद्दा दर्ता भएका छन्।
चैत महिनामा सबैभन्दा धेरै मुद्दा बैंकिङ कसूरका रहेका छन्। प्रहरीका अनुसार कुल १ हजार ९५ वटा बैंकिङ कसूरका मुद्दा दर्ता भएका छन्, जुन कुल मुद्दाको २२.२८ प्रतिशत हो। त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ६८१, आत्महत्यासम्बन्धी ६३६, लागूऔषधका ४७४, चोरीका २९७, ठगीका १८३, सवारी ज्यानका १४९, ज्यान मार्ने उद्योगका १०१ र कर्तव्य ज्यानसम्बन्धी ३९ वटा मुद्दा दर्ता भएका छन्।
प्रहरीको भनाइअनुसार चैत महिनामा मुद्दा दर्ता दर अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले बढेको छ। फागुन महिनामा ४ हजार ४६८ वटा मुद्दा दर्ता भएका थिए।
फ्याक्ट सञ्चार । २०८२ बैशाख १५ गते सोमवार