उपल्लो डोल्पाबासी राष्ट्रिय परिचय पत्रबाट वञ्चित

डोल्पा । डोल्पाको विकट उत्तरी भू–भागमा पर्ने उपल्लो डोल्पाका तीन वटा स्थानीय तहका बासिन्दा हालसम्म राष्ट्रिय परिचय पत्र प्राप्त गर्नबाट वञ्चित भएका छन्।

जिल्लामा रहेका आठ स्थानीय तहमध्ये अधिकांशमा राष्ट्रिय परिचय पत्र वितरणका लागि घुम्ती टोली खटाइएको छ। तर, डोल्पोबुद्ध, शे–फोक्सुन्डो र छार्काताङ्सोङ् गाउँपालिकामा हालसम्म सो कार्य अघि बढ्न सकेको छैन। यस क्षेत्रको भौगोलिक दुर्गमता र नेपाल टेलिकमको इन्टरनेट सेवा नहुनु यसको मुख्य कारण बनेको हो।

शे–फोक्सुन्डो गाउँपालिका वडा नम्बर–१ निजालका स्थानीय पेम्मा छिरिङ गुरुङका अनुसार, गाउँका धेरैजसो नागरिकले अझै राष्ट्रिय परिचय पत्र बनाएका छैनन्। उनले भने, “घरैपिच्छे वृद्धवृद्धा छन्, सदरमुकाम आएर फर्किन दश–बाह्र दिन लाग्छ। अब राज्यले गाउँमै पुगेर राष्ट्रिय परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाउनु पर्छ।”

गाउँकै धेरै नागरिकले नागरिकता समेत नलिएको बताउँदै गुरुङले राष्ट्रिय सेवा लिनका लागि परिचय पत्र अनिवार्य मात्रै गरेर नहुने, नागरिकहरूलाई गाउँमै सहज रुपमा बनाउने वातावरण पनि राज्यले मिलाउनु पर्ने बताए।

उपल्लो डोल्पाको जनसंख्या करिब नौ हजारको हाराहारीमा रहेको छ। छार्काताङ्सोङ् गाउँपालिकाका अध्यक्ष सेनाङ् गुरुङले पनि फोरजी इन्टरनेट सेवाको अभावले नागरिकहरू राष्ट्रिय परिचय पत्र बनाउनबाट बञ्चित भएको बताए। “जिल्ला प्रशासनसँग समन्वय भइरहेको छ तर भौगोलिक विकटता र प्रविधिको अभावले अफलाइन प्रणालीबाट समेत सहज छैन,” उनले भने, “अब राज्यले नै केही विशेष कदम चाल्न जरुरी छ।”

जिल्लाका दुई वटा पालिकामा राष्ट्रिय परिचय पत्र वितरण कार्य सम्पन्न भइसकेको र त्रिपुरासुन्दरी नगरपालिकामा वितरण कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। उनले भने, “उपल्लो डोल्पाबाट सदरमुकाम आउनै चार–पाँच दिन लाग्छ, वृद्धवृद्धालाई झनै गाह्रो छ। धेरैजसो नागरिकले राष्ट्रिय परिचय पत्र लिएका छैनन्।”

राष्ट्रिय परिचय पत्र अनिवार्य बनाएपछि सामाजिक सुरक्षा भत्ता, बैंक खाता खोल्नेदेखि अन्य सरकारी सेवा लिन समस्या भइरहेको उपल्लो डोल्पाबासीको गुनासो छ।

यसैबीच, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग अन्तर्गतको शाखाका निर्देशक तुलसी प्रसाद दाहालले डोल्पाका अन्य पालिकामा वितरण कार्य धमाधम भइरहेको र अब उपल्लो डोल्पामा पनि चाँडै टोली खटाइ वितरण प्रक्रिया अघि बढाइने जानकारी दिए।




फेसबुकबाट तपाईको प्रतिक्रिया