कर्णाली राजमार्ग स्तरोन्नति: पिचमाथि पिच, जोखिमयुक्त ठाउँ ज्यूँका त्यूँ

सुर्खेत । कर्णालीको आर्थिक तथा भौतिक विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको स्तरोन्नति कार्य सुरु भएको छ। जोखिमयुक्त स्थानहरूमा भने सुधारको नाममा खासै प्रगति नभएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

जुम्ला–सुर्खेत २३२ किलोमिटर लम्बाइको यस राजमार्गअन्तर्गत जुम्ला–कालिकोट खण्डका टिमुरे, भैसीगौडा, भिग्म, टाकुल्लालगायत स्थानहरू वर्षौंदेखि खाल्डाखुल्डीले भरिएका छन्। यात्रु तथा चालकहरू दैनिक सास्ती खेपिरहेका छन्।

दैलेखको तल्लो डुंगेश्वरदेखि पाल्तडाको बीचमा पर्ने पादुका खोलाको अवस्था झनै दयनीय छ। वर्षातको समयमा धुलोले गाडी नै नदेखिने र हिउँदमा हिलोले घण्टौंसम्म सडक अबरुद्ध हुने स्थिति रहँदै आएको छ। तर सडक डिभिजन जुम्ला र सुर्खेतले सहज स्थानहरूमा मात्र कालोपत्रे तथा ग्राभेल गर्ने काम थालेपछि स्थानीयवासीको चर्को विरोध छ।

हिमा गाउँपालिका–६ का स्थानीय सूर्यबहादुर अधिकारीले जोखिमयुक्त स्थान बेवास्ता गरेर पहिले नै कालोपत्रे भएका सडकमा पुनः पिच थप्ने कार्यप्रति आक्रोश व्यक्त गरे। “वर्षात परिरहेकै बेला पिच गर्दा गुणस्तर पनि खस्किने खतरा छ,” उनले भने।

तातोपानी–५ का प्रेम चौलागाईंले मंगलबार मात्रै जुम्ला–सुर्खेत यात्रा गर्दा टाकुल्ला, टिमुरे क्षेत्रमा गाडी चलाउनै नसक्ने अवस्था देखिएको उल्लेख गर्दै भने, “सहज ठाउँमा पिचमाथि पिच गर्ने विकासको के अर्थरु जोखिम ठाउँ किन छोडिएकोरु”

त्यही वडाका युवा भीमप्रसाद उपाध्यायले पनि करिब दुई दशकदेखि सञ्चालनमा रहेको राजमार्गमा अझै सहज यात्रा गर्न नसकिएको भन्दै राज्यको उपेक्षाको आरोप लगाए।

सडक डिभिजन जुम्लाका अनुसार चालु आर्थिक वर्षभित्र ४३ किलोमिटर सडक कालोपत्रे गरिनेछ। जुम्ला र कालिकोट खण्डमा नयाँ डबल लेन बनाइएको ठाउँ र पुराना पिच क्षेत्रमा ओभरले पिच गरिनेछ।

सूचना अधिकारी दीपेन्द्र चौधरीका अनुसार कालिकोट खण्डमा पाँचवटा प्याकेजमा १७।७ किलोमिटर सडक पिच गरिँदैछ। त्यसका लागि ३४ करोडभन्दा बढीको लागतमा विभिन्न निर्माण कम्पनीहरूले सम्झौता गरेका छन्।

नाग्मदेखि जुम्लासम्म ३२ किलोमिटरमध्ये २६ किलोमिटर कालोपत्रे उज्वल सानदार जेभी निर्माण कम्पनीले १० करोड ३७ लाख ८८ हजार लागतमा गरिरहेको छ। चालु आवको असार मसान्तसम्ममा काम सकिने लक्ष्य छ।

स्थानीय नागरिकले जोखिमयुक्त क्षेत्रहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरिरहेका छन्। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले पनि निरन्तर वर्षातको अवस्थामा पिच गर्दा गुणस्तरमा असर पर्न सक्ने भन्दै सडक डिभिजन र निर्माण कम्पनीलाई सजक रहन सुझाव दिएका छन्।

तर, सडक डिभजन जुम्लाका प्रमुख चौधरीले भने निर्माण सामग्रीको परीक्षण गरिएको, फिल्डमै निगरानी गरिएको र गुणस्तरमा एक इन्च तलमाथि नहुने दाबी गरे। उनले स्टिमेटअनुसार पिचमाथि पिच गर्नु पर्ने (ओभरल) भएकाले काम त्यहीअनुसार भएको बताए।

कर्णाली समृद्धिको मार्ग भनिएको कर्णाली राजमार्ग अझै सुरक्षित र सहज नहुनु राज्यका लागि चुनौती बनेको छ। जोखिमयुक्त स्थानहरूको सुधारमा प्राथमिकता दिनु राज्यको दायित्व हो भन्ने सन्देश स्पष्ट देखिएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया