कर्णाली करिडोर स्तरोन्नतिका लागि १ अर्ब २७ करोड बजेट विनियोजन

सुर्खेत। सरकारले कर्णाली करिडोरको स्तरोन्नति र निर्माण कार्यलाई तीव्रता दिन आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्णाली करिडोरलाई जोड्ने सडक सञ्जालको स्तरोन्नति गरी कर्णाली प्रदेशको आवागमन सुविधा सुधार गर्ने उद्देश्यले उक्त बजेट विनियोजन गरिएको जानकारी दिए।

कर्णाली करिडोरलाई कर्णाली क्षेत्रको विकासको मेरुदण्ड मानिएको छ। यो करिडोरले कर्णाली प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण भौतिक पूर्वाधारको रुपमा लिइन्छ।

सरकारको भनाइ अनुसार, सडक पहुँचमा सुधार ल्याई कृषि, पर्यटन र अन्य आर्थिक गतिविधिमा टेवा पुर्‍याउने उद्देश्यले कर्णाली करिडोरको स्तरोन्नति आवश्यक छ। यसले दुर्गम क्षेत्रका बासिन्दालाई सहज यातायात सुविधा दिनेछ भने स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन पनि सहयोग पुग्नेछ।




फेसबुकबाट तपाईको प्रतिक्रिया