काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको आरोपसहित अधिवक्ता युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। उनले महानगरका मेयर बालेन शाहविरुद्ध नै उजुरी दर्ता गरेका हुन्।
सफलका अनुसार कार्यालय भवनमा लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन र प्रक्रिया विपरीत काम गरिएको, लागत अनुमानभन्दा धेरै रकम खर्च गरिएको तथा प्रतिस्पर्धी प्रक्रिया बिना ठेक्का दिइएको जस्ता विषयहरू उजुरीमा उल्लेख छन्।
उनले भने, “सार्वजनिक निकायले पारदर्शिता र जवाफदेहितामा काम गर्नुपर्छ, तर यहाँ प्रक्रियागत उल्लंघन गरी जनताको रकम दुरुपयोग भएको शंका लागेर म अख्तियार पुगेको हुँ।”
यस विषयमा मेयर शाह वा महानगर कार्यालयबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक अध्ययनपछि अनुसन्धान अघि बढाउने वा नगर्ने भन्ने निर्णय गर्नेछ।
फ्याक्ट सञ्चार । २०८२ जेष्ठ ३० गते बिहिवार