आज दिउसो प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । विपक्षी दलहरुको विरोधका कारण जेठ १३ गतेदेखि प्रभावित प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आजको बैठक दिउँसो १ बजे बोलाइएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माओवादी केन्द्र, रास्वपासहितका प्रतिपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद अवरुद्ध गर्दै आएका छन् । जेठ १५ गते बजेट प्रस्तुत हुन दिएका प्रतिपक्षी दलहरुले त्यसपछिका बैठकमा भने अवरोध पुर्‍याउँदै आएका छन् ।

गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट पछि हटेर प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने माग राख्दा पनि सत्ता पक्ष तयार नहुँदा सहमति जुट्न सकेको थिएन । जसका कारण बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।

दुवै पक्षका पछिल्ला बैठक र छलफलहरुमा भिजिट भिसा प्रकरणमा छानबिन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले लचक हुँदै छानबिन समिति गठनमा प्रतिबद्धता जनाएका छन् । यद्यपि समिति कस्तो हुने, त्यसको कार्यादेश के हुने लगायतका विषयमा सहमति भइसकेको छैन । त्यसैले आज पनि सहमतिको प्रयास गर्ने नेताहरुले बताएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया