मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच सम्झौता, दुई करोड बढीको छात्रवृत्ति कोष स्थापना

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिका बीच उच्च शिक्षा प्रवर्द्धनका लागि सम्झौता भएको छ । “उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३” सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर गरिएको हो ।

सम्झौता पत्रमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र नगरपालिकाका तर्फबाट नगर प्रमुख मोहनमाया ढकालले हस्ताक्षर गरि सम्झौता गरेका हुन् । सम्झौता अनुसार २ करोड २ लाख २ हजार २ सय २ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । यो कोषबाट छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले स्थानीय सरकारको भूमिका उच्च शिक्षामा पनि महत्वपूर्ण हुने बताइन् । उनले नगर क्षेत्रभित्र रहेको विश्वविद्यालयसँग सहकार्य गर्नु आवश्यक रहेको उल्लेख गरिन् । वीरेन्द्रनगर प्रदेश राजधानी भएकाले सबै क्षेत्रलाई समेटेर अघि बढ्नुपर्ने दायित्व रहेको उनले बताइन्।

उपकुलपति गौतमले विश्वविद्यालयलाई समुदायसँग जोड्ने प्रयास भइरहेको जानकारी दिए । उनले आफ्नो नेतृत्वकालमा एन्डोमेन्ट फन्ड निर्माणका लागि कार्यविधि पास गरिएको बताए । स्थानीय सरकारसँगको सहकार्यले शैक्षिक गुणस्तर सुधार हुने उनले विश्वास व्यक्त गरे ।

यो सम्झौताले स्थानीय तह र विश्वविद्यालयबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। यसले दीर्घकालीन रूपमा छात्रवृत्ति व्यवस्थापन र शैक्षिक अवसर विस्तारमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया