सुर्खेत । मोटिभेशनल स्पिकर आदर्श विक्रम सिंह ‘कर्णाली युथ फेस्टिभल’मा ‘कर्णाली युथ आइकन’बाट सम्मानित भएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कार्यक्रममा उनलाई युवामाझ प्रेरणादायी योगदानका लागि उक्त सम्मान प्रदान गरिएको हो ।
२०७५ सालदेखि उप्रेरक वक्ताका रूपमा सक्रिय सिंहले हालसम्म झण्डै २० हजारभन्दा बढी विद्यार्थी तथा युवाहरूलाई प्रत्यक्ष रूपमा उत्प्रेरित गरिसकेका छन् । पछिल्लो समय उनले नेपाल प्रहरीका विभिन्न इकाइमा समेत प्रेरणामूलक प्रशिक्षण दिँदै आएका छन् ।
सिंह राइजिङ ट्यालेन्ट्स्का संस्थापक हुन् । राइजिङ ट्यालेन्ट्स् संस्थामार्फत उनले विद्यार्थी तथा युवाहरूलाई पब्लिक स्पिकिङ तथा व्यक्तित्व विकास सम्बन्धी तालिम प्रदान गर्दै आएका छन् । साथै, ‘सम्भव छ’ नामक पोडकास्ट कार्यक्रम सञ्चालन गर्दै युवाहरूमा सकारात्मक सोच र आत्मविश्वास अभिवृद्धि गर्ने काम गरिरहेका छन् ।
२०८२ को जेन्जीआन्दोलनका क्रममा कर्णाली प्रदेशमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका सिंह त्यसयता जेनजी तथा युवाहरूलाई उन्नत लोकतन्त्र, सुशासन र सामाजिक न्यायका विषयमा सचेत बनाउने अभियानमा सक्रिय छन् ।
२०५६ सालमा दैलेख जिल्लाको महावु गाउँपालिका–गिताचौरमा जन्मिएका सिंह बाल्यकालदेखि नै अध्ययनमा अब्बल थिए । शिक्षक बुबा याम बहादुर सिंह र आमा टीका कुमारी सिंहको प्रेरणाले उनीमा सानैदेखि अनुशासन र सेवाभावको विकास भएको थियो ।
सात कक्षादेखि नै विद्यालयमा उत्कृष्ट नतिजा हासिल गर्दै आएका उनले अध्ययनका लागि गाउँ छोडेर दैलेख बजारमा उच्च शिक्षा हासिल गरे । उनले ंकक्षा १२ श्री आदर्शराज मेमोरियल माध्यमिक विद्यालयबाट पूरा गरेका हुन् भने स्नातक तहको अध्ययन मध्यपश्चिम विश्वविद्यालयबाट सम्पन्न गरेका छन्।
आयोजकका अनुसार, गिताचौरबाट सुरु भएको उनको यात्रा, निरन्तर मेहनत र सामाजिक योगदानका कारण उनी आज कर्णालीका युवामाझ प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित भएका छन् ।

फ्याक्ट सञ्चार । २०८३ बैशाख २२ गते मङ्गलवार