डोल्पामा चार वर्षदेखि थन्किएको एक्सरे मेसिन, बिरामीलाई अझै दुनै धाउनुपर्ने बाध्यता

डोल्पा। त्रिपुरासुन्दरी नगरपालिकाले चार वर्षअघि खरिद गरेको एक्सरे मेसिन अझै प्रयोगमा आउन सकेको छैन। २०७७ चैतमा त्रिपुराकोट स्वास्थ्य चौकीमा प्रयोग गर्ने उद्देश्यले करिब ३४ लाख ५० हजार रुपैयाँमा खरिद गरिएको मेसिन हालसम्म जडान हुन नसकेको हो।

शुरुमा बत्तीको अभावमा प्रयोगमा नआएको सो मेसिन हाल डोल्पा केन्द्रीय प्रसारणमा जोडिएको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। यद्यपि नगरपालिकाले मेसिन चलाउन करिब १० लाख रुपैयाँमा जेनेरेटर पनि खरिद गरेको थियो। तर, त्यो पनि प्रयोगमा आउन नसकेको पाइएको छ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थानेश्वर पनेरुका अनुसार नेपालगन्जबाट १० जना प्राविधिक झिकाएर मेसिन बनाउने प्रयास गरिएको थियो तर सफल भएन। “हाल बत्तीको पहुँच पुगेको छ, तर मुसाले तार काटेकाले समस्या भएको छ। केही पार्टपुर्जामा पनि समस्या देखिएको छ,” पनेरुले भने, “नेपालगन्ज लगेर भए पनि मर्मत गरेर सञ्चालनमा ल्याउने तयारीमा छौं।”

चार वर्षदेखि थन्किएको मेसिन नचल्दा सर्वसाधारणले सामान्य एक्सरे गराउन पनि सदरमुकाम दुनै जानुपर्ने बाध्यता छ। यसले समय र खर्च दुबै बढाएको स्थानीयवासीको गुनासो छ।

वडाध्यक्ष रामचन्द्र कुलालले आफू निर्वाचित भएलगत्तै मेसिनबारे जानकारी लिएर कार्यपालिकामा विषय उठाएको तर सुनुवाइ नभएको बताए। “वडामा बजेट छैन, नगरपालिकाले चासो दिनुपर्छ,” उनले भने।

कर्णाली प्रदेश सरकारले २०७७/७८ मा एक्सरे मेसिन खरिदका लागि ३८ लाख ९३ हजार ८०५ रुपैयाँ छुट्याएको थियो। सोही अनुदानबाट २०७७ फागुन ६ गते त्रिपुरासुन्दरी नगरपालिकाले बोलपत्र आह्वान गर्दै दाङको एभरेष्ट मेडिको फर्मालाई ३४ लाख ५० हजारमा मेसिन आपूर्ति जिम्मा दिएको थियो।

फर्माका प्रतिनिधि विष्णुदेव बुढ्थापाका अनुसार एक्सरे मेसिन स्वास्थ्य चौकीमै पुर्‍याएर जडान गरिएको थियो, तर विद्युत् नभएकाले सम्पूर्ण भाग जडान गर्न सम्भव भएन।

जिल्ला अस्पताल डोल्पाका डाक्टर अखण्ड उपाध्यायका अनुसार मेसिन पुरानो प्रविधिको हो। “हाल ३० लाखमै गुणस्तरीय डिजिटल एक्सरे मेसिन उपलब्ध छन्,” उनले भने।

यसैबीच संघीय सरकारले त्रिपुराकोट स्वास्थ्य चौकीमा सरकारी छात्रवृत्तिमा अध्ययन गरेका एक जना डाक्टर खटाइसकेको छ। तर, आवश्यक उपकरण नहुँदा सेवा प्रभावकारी बन्न सकेको छैन।




फेसबुकबाट तपाईको प्रतिक्रिया