कर्णालीमा पहिलोपटक पूर्व बाल क्लब सदस्यहरूको ऐतिहासिक भेला, १५ सदस्यीय सञ्जाल गठन

सुर्खेत । कर्णाली प्रदेशमा विभिन्न समयमा बाल क्लबमा आबद्ध भई बालअधिकारको क्षेत्रमा योगदान तथा अनुभव हासिल गरेका पूर्व बाल क्लब सदस्यहरूको प्रथम ऐतिहासिक भेला सम्पन्न भएको छ ।
शनिबार सम्पन्न उक्त भेला बाल अधिकारका लागि साझा अभियान (सिसिआर) कर्णालीको आयोजना तथा सेभ द चिल्ड्रेन, युनिसेफ र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सम्पन्न भएको हो।
भेलाका क्रममा बालअधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो। नागरिक समाजका अगुवाहरू पिताम्बर ढकाल, टीकाराम आचार्य, रमा भण्डारी, तत्कालीन जिल्ला बाल कल्याण समितिका बाल प्रतिनिधि टेकराज आचार्य तथा नेपालमा बाल क्लब दर्ताका लागि कानुनी संघर्षको नेतृत्व गर्नुभएका तिलोत्तम पौडेललाई सम्मान गरिएको हो।
बाल क्लब दर्ताका लागि गरिएको कानुनी पहलपछि सर्वोच्च अदालतबाट २०५८ साल साउन २५ गते बाल क्लब दर्ता गर्न आदेश जारी भएको योगदानलाई समेत भेलामा स्मरण गरिएको थियो।
त्यसैगरी सुर्खेतमा बालअधिकारको क्षेत्रमा स्थापना कालदेखि निरन्तर काम गर्दै आएका सेभ द चिल्ड्रेन र स्याक नेपाललाई पनि सम्मान गरिएको थियो।
भेलामा ‘बाल सहभागिता हिजो, आज र भोलि’ विषयमा प्यानल छलफलसमेत गरिएको थियो। पूर्व बाल क्लब सदस्य राकेश पौडेलले सहजीकरण गर्नुभएको छलफलमा गुर्भाकोट नगरपालिकाकी उपप्रमुख एवं पूर्व बाल क्लब सदस्य मैना वि.क., युनिसेफमा कार्यरत पूर्व बाल क्लब सदस्य प्रेम चन्द र युवा उद्यमी एवं पूर्व बाल क्लब सदस्य दीपक बुढा वक्ताका रूपमा सहभागी हुनुभएको थियो।
त्यस्तै, पूर्व बाल क्लब सदस्य र वर्तमान बाल क्लबमा आबद्ध सदस्यबीच अन्तरक्रिया सत्रसमेत सञ्चालन गरिएको थियो। उक्त सत्रको सहजीकरण रमा भण्डारी तथा पूर्व बाल क्लब सदस्यहरू बाले विश्वकर्मा, ताराप्रसाद पौडेल, अनिता नेपाली र हिमा उपाध्यायले संयुक्त रूपमा गर्नुभएको थियो।
भेलाले पूर्व बाल क्लब सदस्यहरूलाई संगठित गर्दै बालअधिकारको क्षेत्रमा थप योगदान पु¥याउने उद्देश्यले कार्यविधि पारित गरेको छ। कार्यविधिअनुसार सञ्जालको कार्यकाल एक वर्षको हुने र १५ सदस्यीय समिति गठन गरिने व्यवस्था गरिएको छ।
समितिमा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट एक–एक जना प्रतिनिधिका साथै दलित, महिला, अपांगता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र सदस्य–सचिवको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
कार्यविधिअनुसार सुर्खेतका तेज सोनाम संयोजक र जुम्लाकी अनिता वि.क. उपसंयोजक चयन हुनुभएको छ। सदस्यमा दैलेखबाट हरिकला खड्का, कालिकोटबाट बाले विश्वकर्मा, मुगुबाट अनिता भियाल, डोल्पाबाट रणबहादुर कार्की, जाजरकोटबाट जयन्ता खत्री ‘सुधा’ र सल्यानबाट प्रकाश नेपाली चयन हुनुभएको छ।
भेलाले बालअधिकारको प्रवद्र्धन, संरक्षण र सुनिश्चितताका लागि १२ बुँदे कर्णाली घोषणापत्र समेत जारी गरेको छ। घोषणापत्रमा पूर्व बाल क्लब सदस्यहरूलाई सञ्जालमा आबद्ध गराउने, सञ्जाललाई संस्थागत तथा सुदृढ बनाउने, बाल संरक्षणसम्बन्धी सरकारी संरचनालाई सहयोग गर्ने तथा सदस्यहरूको सीप, क्षमता र रुचिका आधारमा जिम्मेवारी बाँडफाँट गर्ने प्रतिबद्धता जनाइएको छ।
त्यस्तै, आत्मनिर्भरता, विविधताको सम्मान, गैरराजनीतिक तथा धार्मिक तटस्थता, तथ्य तथा तथ्यांकमा आधारित अभ्यास, संवाद–सहकार्य–समन्वय र साझेदारी, समावेशिता, समानता तथा अधिकारमुखी अवधारणालाई प्राथमिकतामा राखिएको छ।
घोषणापत्रमा बालअधिकारको प्रवद्र्धन, संरक्षण र सुनिश्चितताका लागि सक्रिय भूमिका निर्वाह गर्ने तथा बालबालिकाका आवाजलाई परिवार, समुदाय र संस्थागत तहसम्म सुनुवाइका लागि पैरवी गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया