कर्णालीमा ‘कृषि मौसम सल्लाह’सम्बन्धी प्रदेशस्तरीय कार्यशाला सुरु

सुर्खेत । कर्णाली प्रदेशमा कृषि क्षेत्रलाई मौसमजन्य जोखिमबाट जोगाउन ‘कृषि मौसम सल्लाह’ सम्बन्धी प्रदेशस्तरीय दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ ।

सुर्खेतमा आजदेखि सुरु भएको कार्यशाला कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानिय पहल (लिबर्ड) ले आयोजना गरेको हो ।

कार्यशालाको उद्घाटन गर्दै कर्णाली प्रदेशका कृषिमन्त्री जुम्कित लामा कार्कीले मौसमजन्य विपद्को उच्च जोखिममा रहेको कर्णालीका लागि कृषि मौसम सल्लाह निकै महत्वपूर्ण रहेको बताइन् । उनले कर्णालीको अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र भएकाले यसको विकास, उत्पादन वृद्धि र किसानको जीवनस्तर सुधारका लागि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको समेत जनाएकी छन् ।

मन्त्री लामाले किसानको हित र खेती प्रणालीलाई थप उत्थानशील बनाउन लिबर्डले गर्दै आएको कामको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् ।

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. चन्द्रप्रसाद रिसालले जलवायु परिवर्तन र मौसमजन्य विपद्को प्रत्यक्ष प्रभाव कृषि क्षेत्र र किसानमा परेको बताउनुभयो । उहाँले कर्णालीमा ‘कृषि मौसम सल्लाह’ कार्यक्रम अझ प्रभावकारी र उपयोगी हुने धारणा राखेका छन् ।

स्थानीय समुदायको जीविकोपार्जनलाई सुरक्षित र दिगो बनाउन जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

लिबर्डका जलवायु सम्बन्धी रणनीतिक कार्यक्रम प्रमुख प्रगतिराज सिपखानले नेपाल जलवायु परिवर्तनका दृष्टिले उच्च जोखिममा रहेको र त्यसको प्रभाव कर्णालीमा अझ बढी देखिएको बताए । मौसमजन्य विपद्का कारण कृषि क्षेत्रमा हुने क्षति कम गर्न तथा किसानलाई समयमै मौसमसम्बन्धी पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको उनले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा कृषि तथा पशु क्षेत्रसँग सम्बन्धित कार्यालय, नेपाल कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय, मौसम तथा जलवायु विज्ञान कार्यालय, स्थानीय तहका कृषि शाखा, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

कार्यशालामा मौसमसम्बन्धी सूचना किसानसम्म पुर्‍याउने, कृषि क्षेत्रमा मौसमजन्य जोखिम न्यूनीकरण गर्ने तथा जलवायु अनुकूल कृषि प्रणाली विकास गर्ने विषयमा छलफल हुने बताइएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया