दशौँ राष्ट्रिय खेलकुदमा स्वयंसेवक बन्ने अवसर, ३०० जनाका लागि खुल्यो आवेदन; दैनिक १ हजार रुपैयाँ पाइने

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि करिब ३०० जना स्वयंसेवक माग गरिएको छ। प्रतियोगिता सञ्चालनका क्रममा विभिन्न खेलस्थल तथा उपसमितिमार्फत परिचालन गर्ने गरी स्वयंसेवकका लागि आवेदन आह्वान गरिएको हो। स्वयंसेवकका रूपमा काम गर्न इच्छुक १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। स्वयंसेवकले एक दिन सेवा गर्नुपर्नेछ भने खानाखाजाबापत दैनिक १ हजार रुपैयाँ उपलब्ध गराइने सूचनामा उल्लेख छ।

आवेदन दिन चाहने सुर्खेत जिल्लाका इच्छुक व्यक्तिले जिल्ला खेलकुद विकास समिति, सुर्खेतमा सम्पर्क गर्नुपर्नेछ। अन्य जिल्लाका आवेदकले भने सम्बन्धित जिल्ला खेलकुद विकास समितिमार्फत आवेदन दिन सक्नेछन्। स्वयंसेवकका लागि आवेदन दिने अन्तिम मिति २०८३ कात्तिक ३ गते तोकिएको छ। त्यस्तै, छनोट प्रक्रिया कात्तिक ४ गते सञ्चालन हुने जनाइएको छ।

स्वयंसेवक छनोट गर्दा महिला खेलाडी तथा स्थानीयलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। थप जानकारीका लागि स्वयंसेवक उपसमितिका सचिव सुजन खतिवडालाई ९८५१०४२१३१ नम्बरमा सम्पर्क गर्न सकिनेछ।




फेसबुकबाट तपाईको प्रतिक्रिया