पदक जित्ने गरी तयारी गर्नुस्, बजेटको कमी हुन दिन्नौँ : मुख्यमन्त्री शाही

पदक जित्ने लक्ष्यमा कर्णाली, तयारीमा बजेटको कमी हुन नदिने मुख्यमन्त्रीको घोषणा!

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गर्नुभएको छ। उहाँले उत्कृष्ट खेलाडी छनोट गरी सक्षम प्रशिक्षकको व्यवस्थापन गर्न निर्देशन दिँदै प्रतियोगिताको तयारीका लागि बजेटको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा बसोबास व्यवस्थापन उपसमितिले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले खेलाडी छनोट निष्पक्ष र गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘तपाईँहरू राम्रा खेलाडी छनोट गर्नुस्, निष्पक्ष भएर खेलाडी छनोट गर्नुस्, राम्रा प्रशिक्षक ल्याउनुस् र पदक जित्ने तयारीमा लाग्नुस्। बजेटको कुनै समस्या हुँदैन, तपाईँहरूले मागेकोभन्दा बढी बजेट दिन प्रदेश सरकार तयार छ।’ दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि अवसर र चुनौती दुवै भएको उल्लेख गर्दै उहाँले सबै मिलेर चुनौतीको सामना गर्न र अवसरको सदुपयोग गर्नुपर्ने बताउनुभयो।

मुख्यमन्त्री शाहीले प्रतियोगिताको व्यवस्थापन प्रदेश सरकार, खेलकुद परिषद् वा सरकारी निकायको प्रयासले मात्रै सम्भव नहुने स्पष्ट पार्नुभयो। यसका लागि सबै सरोकारवाला निकायको उत्तिकै सहयोग र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। प्रतियोगिताको आयोजक संघीय सरकार भए पनि आयोजना कर्णाली प्रदेशमा हुने भएकाले कुनै पनि कमीकमजोरी हुन नदिन सबै निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने उहाँले बताउनुभयो। साथै, प्रतियोगिता पुनः स्थगित हुन्छ कि भन्ने आशंका नगर्न उहाँले सबैलाई अपिल गर्नुभयो।

कार्यक्रममा सामाजिक विकासमन्त्री जितबहादुर मल्लले कर्णाली प्रदेशले जिम्मेवारी पाएका चारवटै उपसमितिले हालसम्म सन्तोषजनक काम गरिरहेको बताउनुभयो। बाँकी उपसमितिले गरिरहेका कामप्रति पनि प्रदेश सरकारको चासो रहेको उल्लेख गर्दै उहाँले प्रतियोगिता व्यवस्थापनको ठूलो जिम्मेवारी कर्णालीको काँधमा रहेकाले कुनै कसर बाँकी नराखी काम गर्न आग्रह गर्नुभयो।

छलफल कार्यक्रममा प्रदेशका प्रमुख सचिव राधिका अर्याल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, होटल व्यवसायी महासंघका पदमबहादुर शाही, तर्कबहादुर शाही तथा नेपाल पत्रकार महासंघका अध्यक्ष मधुवन बिसीलगायतले प्रतियोगिताको तयारी र व्यवस्थापनबारे आ–आफ्ना सुझाव राख्नुभएको थियो। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ। प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन प्रदेश सरकारसहित विभिन्न निकायले तयारीलाई तीव्रता दिइरहेका छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया