काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेस र एमालेले गठबन्धन गरी शुक्रबार राष्ट्रपति पौडेलसमक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेस गरेका थिए ।
शुक्रबार पुष्पकमल दाहाल प्रचण्ड संसदबाट विश्वासको मत पाउन असफल भएका थिए । त्यसपछि राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मको समय सीमा तोकेर सरकार बनाउने दाबी पेस गर्न आह्वान गरेका थिए ।
राष्ट्रपतिको आह्वानपछि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपति भवन शीतलनिवास पुगेर दाबी पेस गरेका थिए ।
ओलीले पद तथा गोपनीयताको शपथग्रहण सोमबार बिहान ११ बजे गर्ने तय भएको छ । त्यसका लागि राष्ट्रपति कार्यालयले अतिथिहरूलाई निमन्त्रणा पनि पठाइसकेको छ ।
सोमबार नै नवनयिुक्त प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पनि गठन गर्नेछन् । कांग्रेस र एमालेबाट मन्त्री बन्नेहरूको सूची बनाउन छलफल चलिरहेको छ ।
ओलीको चौथो कार्यकाल हो । यसअघि ओली २०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०७४ मा आमचुनावपछि प्रधानमन्त्री उनी २०७८ मा फेरि प्रधानमन्त्री बनेका थिए ।
ओलीका यसअघिका कार्यकाल केही सफल र विवादास्पद रहेका थिए । दोस्रो र तेस्रो कार्यकालमा गरी ओलीले दुईपटक संसद विघटन गरेका थिए, जसलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । उनकै दोस्रो कार्यकालमा देशको नयाँ नक्सा जारीसमेत भएको थियो ।
फ्याक्ट सञ्चार । २०८१ असार ३१ गते आइतवार