मंगलबार रातिदेखिको वर्षाले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्गको कालीकोट खण्डमा पर्ने गगने खोला र एस मोडमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
राजमार्गको पहिरो हटाउन डोजर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए । कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो गएको छ ।
उनले कालीकोटको हुल्ममा राखिएको जेसीभी पठाएर पहिरो हटाएपछि दिउँसोसम्ममा सडक सञ्चालन हुने सम्भावना रहेको जानकारी दिए ।
वर्षा सुरु भएयता गगने खोलो र एस मोडमा मात्र ९ पटक पहिरो झरेको प्रहरीले जनाएको छ । सडक डिभिजन कार्यालयले २ करोड रुपैयाँ बढीको लागतमा गत वर्ष मात्र पहिरो रोकथामको लागि ग्याबिन पर्खाल लगाइएको भएपनि माथिबाट निरन्तर पहिरो झरिरहेकाले टिकेको छैन ।
फ्याक्ट सञ्चार । २०८१ साउन २३ गते बुधवार